नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबार दिउँसोसम्म ५३ हजार ४५ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार दिउँसोको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७८७ जना पुगेको छ ।

संक्रमणबाट निको भएका बिरामीको संख्या १५ हजार ३३१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार दिउँसोसम्म यो रोगका ३५ हजार ८७१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १६ हजार ७५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ६ हजार ६२५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ५३२ जना बिरामी छन्।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुनेगरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो । कोरोना भाइरसको संक्रमण देशभर बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । एएनआई

तपाईको प्रतिक्रिया