जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ७३ हजार ५३४ बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख ६८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार रातिसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ५ हजार ५८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि विश्वभर ६ हजार ८११ जनाको मृत्यु भएको थियो ।
प्राप्त समाचारअनुसार विश्वभर करिब ४८ हजार ९०५ मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २२ लाख ७८ हजार ३२ अर्थात् करिब ९८ प्रतिशतको अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३१ हजार २४८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ११ हजार ३६४ पुगेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा अझै पनि कमी आएको छैन । पछिल्लो २४ घन्टामा अमेरिकामा २ हजार १२९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि यहाँ २ हजार ५२८ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ७७ हजार २४९ पुगेको छ ।
कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घन्टामा इटालीमा २७४, स्पेनमा २१३ र फ्रान्समा १७८ जनाको ज्यान गएको छ ।
कोरोना भाइरसबाट युरोपमा १५ लाख ७५ हजार भन्दा बढी प्रभावित भएकोमा १ लाख ४९ हजार जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा १४ लाख २५ हजार संक्रमित भएकोमा ८७ हजारको मृत्यु भएको छ । यस्तै, एसियामा कुल ६ लाख २५ हजार संक्रमित भएकोमा २३ हजारको मृत्यु भएको छ ।
दक्षिण अमेरिकामा २ लाख ७० हजार संक्रमित भएकामध्ये १४ हजारको मृत्यु भएको छ । यस्तै, अफ्रिकामा ५६ हजार संक्रमितमध्ये २ हजार ५०० सय व्यक्तिको ज्यान गएको छ । यसैगरी, अस्ट्रेलियामा ८ हजार ५०८ जना संक्रमित भएकोमा ११८ को मृत्यु भएको छ ।
यस्तै, दक्षिण एसियाली मुलुकतर्फ भारतमा ५७ हजार ३०६ जना संक्रमित रहेकोमा १८९९, पाकिस्तानमा २६ हजार ४३५ व्यक्ति बिरामी रहेकोमा ५९९, बंगलादेशमा १३ हजार १३४ व्यक्ति संक्रमित रहेकोमा २०६, अफगानिस्तानमा ३७७८ मानिस संक्रमित रहेकोमा १०९, श्रीलंकामा ८२४ संक्रमितमध्ये ९, माल्दिभ्समा ७३४ संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ ।
यसैगरी, नेपालमा हालसम्म १०२ व्यक्ति संक्रमित रहेकोमा ३० जना निको भई घर फर्किएका छन् । यस्तै, भुटानमा सात जनामा संक्रमण देखिएकोमा ५ जना निको भएका छन् । एएफपी











