काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या शनिबार बिहानसम्म ४० लाख १२ हजार पुगेको छ । जसमध्ये १३ लाख ८५ हजार २२३ जना निको भएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १३ लाख ८२ हजार २२३ संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको संयुक्त राज्य अमेरिकामा १३ लाख २१ हजार ७८५ कुल संक्रमितमध्ये दुई लाख २३ हजार ६०३ जना निको भइसकेका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने मुलकमा स्पेन रहेको छ । यहाँ २ लाख ६० हजार ११७ जना संक्रमित भएकोमा १ लाख ६८ हजार ४०८ मानिस निको भएका छन् ।
यसैगरी, इटालीमा २ लाख १७ हजार १८५ संक्रमित रहेकोमा ९९ हजार २३ जना निको भएका छन् ।
सबैभन्दा बढी निको हुने देशमा जर्मनी परेको छ । यहाँ १ लाख ७० हजार ५८८ जना संक्रमित भएकोमा निको हुनेको संख्या १ लाख ४१ हजार ७०० पुगेको छ । २१ हजार ३७८ जनाले उपचार गराइरहेका छन् ।
चीनमा कुल ८२ हजार ८८७ संक्रमितमध्ये ७८ हजार ४६ जना निको भई फर्किएका छन् । चीनमा हाल उपचारत मानिसको संख्या २०८ मात्र बाँकी छ । जसमा १५ जनाको अवस्था जटिल रहेको बताइएको छ ।
विश्वभर कोरोना भाइरसका कुल संक्रमितको संख्या ४० लाख १२ हजार ७७० रहेकोमा दुई लाख ७६ हजार २१५ जनाको मृत्यु भइसकेको छ ।
चीनको वुहान सहरबाट उत्पत्ति भई संसारभरमा जनतालाई भय, त्रास, शोक र सन्नाटा सिर्जना गरेका कोरोना भाइरसका कारण अमेरिकामा ७८ हजार ६१५ जनाको मृत्यु भएको छ ।
यस्तै, बेलायतमा ३१ हजार २४१, इटालीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, ब्राजिलमा १० हजार १७, बेल्जियममा ८ हजार ५२१, जर्मनीमा ७ हजार ५१०, इरानमा ६ हजार ५४१, नेदरल्याण्ड्समा ५ हजार ३५९, चीनमा ४ हजार ६३३, क्यानडामा ४५६९ र टर्कीमा ३६८९ जनाको मृत्यु भएको छ । एजेन्सी















