जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ९५ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार दिउँसोसम्ममा ३ हजार ५१० जनाको मृत्यु भएको छ र सोमबार ८० हजार नयाँ संक्रमित थपिएका छन् ।
प्राप्त समाचारअनुसार विश्वभर ४७ हजार ४० मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ६३ हजार १७३ अर्थात् करिब ९८ प्रतिशतको अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३१ हजार ८५५ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ७५० जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार ७८७ पुगेको छ ।
कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घन्टामा इटालीमा १६५, स्पेनमा १४३ र फ्रान्समा ७० जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ५६०, स्पेनमा २६ हजार ६२१ र फ्रान्समा २६ हजार ३८० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट युरोपमा १६ लाख ४० हजार ९१० जना कुल संक्रमित भएकोमा १ लाख ५२ हजार ८६५ जनाको मृत्यु भएको छ । यस्तै, उत्तर अमेरिकामा १४ लाख ९९ हजार ११९ संक्रमित भएकोमा ९० हजार १०९ जनाको ज्यान गएको छ ।
यसैगरी, एसियामा ६ लाख ७० हजार ८८३ जना बिरामी छन् भने २२ हजार २२६ जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकामा ३ लाख १० हजार १८९ जना संक्रमितमध्ये १६ हजार ३८८ को मृत्यु भएको छ । अफ्रिकामा ६४ हजार ७८८ जना संक्रमित रहेकोमा २ हजार ३०१ को ज्यान गएको छ । यस्तै, ओसेनिया (अस्ट्रेलिया) मा कुल ८ हजार ५४९ जना संक्रमितमध्ये ११८ ले ज्यान गुमाएका छन् ।
दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा प्रभावित भारत बनेको छ । भारतमा ६७ हजार २५९ जना संक्रमित छन् भने २ हजार २१२ ले ज्यान गुमाएका छन् । यस्तै, पाकिस्तानमा ३० हजार ९४१ संक्रमितमध्ये ६६७ को ज्यान गएको छ । बंगलादेशमा १४ हजार ६५७ संक्रमितमध्ये २२८ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ४ हजार ४०२ संक्रमितमध्ये १२० को ज्यान गएको छ ।
यस्तै, श्रीलंकामा ८६३ कुल संक्रमितमध्ये ९ जनाको निधन भएको छ । यस्तै, माल्दिभ्समा ८३५ संक्रमित रहेकोमा ३ जनाको ज्यान गएको छ ।
नेपालमा हालसम्म १२१ जना संक्रमित छन् भने ३३ जना निको भएका छन् । भुटानमा ९ जनामा संक्रमित देखिएकोमा ५ जना र फर्किसकेका छन् । एजेन्सी











