उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा दुई ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सबै मजदुर रहेका जनाइएको छ ।

स्थानीय समयानुसार शनिबार बिहान दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको औरयाकी प्रमुख चिकित्सा अधिकृत अर्चना श्रीवास्तवले बताए । उनले अरु १५ जनालाई सैफाई विजिआईमा पठाइएको पनि जानकारी दिए ।

“दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ, अरु २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ, गम्भीर घाइतेमध्ये १५ जनालाई भने अन्यत्र अस्पतालमा लगिएको छ,” उनले भने । दुर्घटनामा परेकाहरु राजस्थानबाट विहार र झारखण्डतर्फ जाँदै गरेका मजदुर रहेको अर्चनाले बताए ।

यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले दुर्घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् । एउनआई

तपाईको प्रतिक्रिया