बैंकक । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरियामा अहिले पुनः सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितहरु फेरि धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लब, बार, रेष्टुरेन्टलगायतका व्यावसायिक कार्यालयहरु बन्द गरिएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट ११ हजार १६५ जना सङ्क्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।

अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ । पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना सङ्क्रमित भेटिएका छन् । पहिचान गर्ने र परीक्षण गर्ने क्रम पनि तीव्र पारिएको जनाइएको छ ।

दक्षिण कोरियामा सङ्क्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ । तर, यता चीनमा भने आहिले एक जना पनि कोरोना भाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका छन् । दुई जना भने शंकास्पद देखिएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ बिरामी नभेटिए पनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । एपी

तपाईको प्रतिक्रिया