नयाँदिल्ली । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३० हजार ५०६ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार रातिको तथ्यांकअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ८५० जना पुगेको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५३ हजार ९४७ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ७२ हजार ७०९ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४४ हजार ५८२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १४ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १३ हजार २६८ संक्रमति रहेका छन् । दिल्लीमा १२ हजार ३१९ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट सुरु भएको थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुनेगरी मे १७ सम्म थप दुई साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौंथो चरणको लकडाउन सुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतमा विगत केही दिनयता संक्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपि अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । एएनआई

तपाईको प्रतिक्रिया