पेरिस । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ८४ हजार २६७ पुगेको छ ।

गत डिसेम्बरदेखि मंगलबार बिहानसम्ममा निको हुनेको संख्या विश्वभर २३ लाख ६२ हजार ९८४ पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म विश्वभर तीन लाख ४७ हजार ६१३ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घन्टामा विश्वभर ३०९६ व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १७ लाख ६ हजार २२६ रहेका छन् भने ब्राजिलमा तीन लाख ७६ हजार ६६९, रूसमा तीन लाख ५३ हजार ४२७, स्पेनमा दुई लाख ८२ हजार ४८०, बेलायतमा दुई लाख ६१ हजार १८४ र इटलीमा दुई लाख ३० हजार १५८ सङ्क्रमित रहेका छन् ।

सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९९ हजार ८०५ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ९१४, इटलीमा ३२ हजार ८७७, स्पेनमा २६ हजार ८३७, फ्रान्समा २८ हजार ४३२ र ब्राजिलमा २३ हजार ५२२ सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।

एसियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी सङ्क्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बंगलादेश सिंगापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् । एएफपी

तपाईको प्रतिक्रिया