नयाँ दिल्ली । भारतमा मंगलबार बेलुकीसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ४७ हजार १४४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार १९७ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६१ हजार ९२३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८१ हजार २४ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५२ हजार ६६७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् र गुजरातमा १४ हजार ४६० संक्रमित रहेका छन् । दिल्लीमा १४ हजार ७३ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौंथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।
भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट सुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुनेगरी मे १७ सम्म थप दुई साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौंथो चरणको लकडाउन सुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौंथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतमा विगत केही दिनयता संक्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपि अघिल्ला चरणका लकडाउनको तुलनामा चौंथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । एएनआई

तपाईको प्रतिक्रिया