काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा बुधबार मध्यान्हसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७२ नाघेको छ । अमेरिकामा हालसम्म १७ लाख २५ हजार २७५ जना संक्रमित भएका छन् ।
जसमध्ये ४ लाख ७९ हजार ९६९ जना निको भएका छन् भने ११ लाख ४४ हजार ७३४ जनाको उपचार जारी रहेको छ ।
विश्वभर ३ लाख ५२ हजार २९४ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५६ लाख ८९ हजार २१२ नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घन्टाको अवधिमा ९२ हजार ६० नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घन्टामा विश्वभर ४ हजार ४८ जनाको ज्यान गएको छ ।
प्राप्त समाचारअनुसार विश्वभर करिब ५३ हजार १०१ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख ९८ हजार ३६० को स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३७ हजार ४८ को कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ७७४ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या एक लाख ५७२ पुगेको हो । एजेन्सीहरुको सहयोगमा ।