अहमदावाद । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो ।

पछिल्लो दुई महिनामा मात्रै यती धेरै बैवाहिक कार्यक्रम स्थगित भएको वैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् । “गुजरात प्रदेशभरीमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित भएका छन्,” होटल तथा रेस्टुरेन्ट एसोसिएसन गुजरातका प्रवक्ताले भने ।

प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै विवाहका धेरै कार्यक्रम हुने महिना भए पनि धेरै विवाह स्थगित भएका छन् । तर, कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् ।

सरकारले ५० जनामात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै बैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ । सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भए पनि वैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाइ छ ।

“मानिसहरुले अहिले धमाधम वैवाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको समयको प्रतीक्षा गरेका छन्, अब डिसेम्बर र जनवरीमा मात्रै विवाह हुनसक्ने देखिएको छ,” एक व्यवसायीले भने । सरकारले लागू गरेको मापदण्ड पूरा गरेरमात्रै विवाह गर्न निकै कम जोडीले मात्रै गरेका छन् । अति वाध्यात्मक अवस्थामा रहेकाबाहेक अधिकांशले प्रतीक्षा नै गरेको पाइएको छ ।

आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्यून सहभागिता भएको कसले चाहन्छ र ? त्यसैले अत्यावश्यक बाध्यता परेकाबाहेक अन्यले प्रतीक्षा गरेको हुनसक्ने वैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाइ छ । पिटिआई

तपाईको प्रतिक्रिया