नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घन्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घन्टाको अवधिमा ९ हजार ३०४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख १७ हजार १८७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भइसकेको छ । बुधबार एकैदिनमा भारतमा कोरोना भाइरसका २६० जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख ६ हजार ९९२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख ४ हजार १०७ जना संक्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७४ हजार ८६० जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २५ हजार ८७२ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २३ हजार ६४५ जना संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउँदै लगिएको र परीक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् । एएनआई

तपाईको प्रतिक्रिया