सियोल । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद गर्ने जनाएको छ ।
दुवै देशको सीमा क्षेत्रमा उत्तर कोरियाविरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको छ ।
दक्षिण कोरिया सरकारले कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आणविक निःशस्त्रीकरणको विषयलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच जारी गतिरोधले पनि दुवै कोरियाबीचको सम्बन्धमा सुधार आउन सकेको छैन ।
केही विज्ञहरुले उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउन पनि जानीबुझी यस्तो निर्णय गरेको बताएका छन् । उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले सम्पर्क सञ्जालले खासै फाइदा नभएकाले सबै दुई देशीय सम्पर्क सञ्जाल बन्द गर्नु परेको जनाएको छ ।
उत्तर कोरियाबाट भागेका र दक्षिण कोरियाली रुढीवादी प्रदर्शनकारीहरुले उत्तर कोरियातर्फ सीमा क्षेत्रबाट ठुल्ठूला बेलुन उडाएका थिए । यी बेलुनमा उत्तर कोरियाली नेता किम जोङ उनको आणविक महत्वाकांक्षा र मानवअधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिएका पर्चा पनि राखिएका थिए ।
सीमा क्षेत्रबाट भएका अवाञ्छित गतिविधिले उत्तर कोरियाली नेताको नेतृत्वलाई अपमान गरेको उत्तरको बुझाइ छ । पटकपटक बेलुन उडाइए पछि उत्तर कोरियाले दक्षिणसँग गरिएका अरु सम्झौताहरु पनि रद्द गर्ने चेतावनी दिएको छ । एपी