नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुरा दाबी गरेको हो ।

उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भारतमा निकै कम रफ्तारमा मात्र कोरोना भाइरस फैलिएको पाइएको पनि एक अनुसन्धानबाट देखिएको जानकारी गराएको बताइएको छ ।

उनले भारतका ग्रामीण तहमा साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशतमात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताए । तर, भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिएमा यसबाट ठूलो क्षति हुने पनि उनले बताए । यसै कारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने जानकारी दिए ।

उनले अहिले भारतमा हरेक दिन एक लाख ५० हजार जनाको परीक्षण गर्ने गरिएको बताए । तर, भारतसँग दिनमा कम्तीमा पनि दुई लाख जनाको परीक्षण गर्न सकिने क्षमता रहेकोले परीक्षणको संख्यालाई पनि दिन प्रतिदिन बढाउँदै लैजानुपर्ने सुझाव दिए । एएनआई

तपाईको प्रतिक्रिया