नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार भारतमा एकैदिन झन्डै १६ हजार जना संक्रमित भेटिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा १५ हजार ९६८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।

सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ५७७ पुगेको छ भने संक्रमितको संख्या चार लाख ६१ हजार ८२८ पुगेको छ ।

भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८५ हजार ५६९ रहेको छ । त्यसैगरी संक्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ६१ हजार ६८२ पुगेको छ ।

प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना संक्रमित भएको तथ्याङ्क छ ।

तीमध्ये ६२ हजार ८४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी महाराष्ट्र राज्यमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा भने संक्रमितको संख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना संक्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ । एएनआई

तपाईको प्रतिक्रिया