नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ ।

कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा २० हजार १३१ जना सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ३८ हजार ६८९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ५ हजार ६०२ पुगेको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भई घर फर्केकाहरुको सङ्ख्या तीन लाख १६ हजार ८२३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा मात्रै कोरोना भाइरसका कारण ४१४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या १६ हजार २६२ पुगेको जनाइएको छ ।

कोरोनाभाइरसबाट सबभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म एक लाख ५९ हजार १३३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १८८ जना सङ्क्रमित भएको जनाइएको छ । एएनआई

तपाईको प्रतिक्रिया