न्यूयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस महामारीको सबैभन्दा खराबस्वरूप देखिन बाँकी भएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधोनम गेब्रियासले यदि संसारभरका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्नसक्ने चेतावनी दिएका छन् ।

भर्चुअल ब्रिफिङमा टेड्रोसले भनेका छन्, ‘हामी सबै यो चाँडै नै उन्मूलन होस् भन्ने चाहन्छौँ । हामी सबै आफ्नो दैनिक काम कारबाहीमा फिर्ता हुन चाहन्छौँ । तर, तीतो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मूलन हुने यात्राभन्दा निकै टाढा छौँ ।’

‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गति तीव्र भइरहेको उनको भनाइ छ । यति धेरै मानवीय र आर्थिक(सामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा टेड्रोसले बताए ।

केही देशले नियन्त्रणमा लिएजस्तो देखिए पनि विश्वभर यो समस्या कायमै छ। राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ ।’

यदि विश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सही नीतिहरू पालना गरेनन् भने यसले अरू धेरै मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताए । महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैँ काम गर्न टेड्रोसले आग्रह गरेका छन् ।

बेलायतले लकडाउनका बेला पालना गर्नुपर्ने नियमलाई झन् कडा बनाएको छ । लेस्टर सहरमा कोरोना भाइरस संक्रमित थपिँदै गएपछि लकडाउनमा कडाइ गरेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) ले जुलाई १ तारिखदेखि धार्मिकस्थल खुला गर्ने भएको छ । त्यहाँको सरकारले सबै मस्जिद र अन्य धार्मिकस्थल खोल्ने घोषणा गरेको हो । अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट १ करोड ५ लाख ९१ हजार बढी संक्रमित भएका छन् भने ५ लाख १४ हजार मानिसले ज्यान गुमाइसकेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया