
नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६६९ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४९ हजार ८८९ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
विगत २४ घन्टामा भारतमा थप २२ हजार ७२१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४४४ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।
विज्ञप्तिअनुसार “शनिबार मध्यान्हसम्म १८ हजार ६६९ सङ्क्रमितको मृत्यु भएको र छ लाख ४९ हजार ८८९ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार ३१९ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।”
शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या छ लाख २७ हजार १६८ रहेको थियो भने मृत्यु सङ्ख्या १८ हजार २२५ रहेको थियो ।
शनिबारसम्मको विवरणअनुसार भारतमा अझै दुई लाख ३६ हजार ९०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने उनीहरूलाई देशभरका सयौँ अस्पतालहरूमा उपचार सेवा प्रदान गरिराखिएको छ ।
भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यवसायिक अन्तराष्ट्रिय उडानहरूलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारहरूमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन सङ्क्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगहरूलाई सञ्चालनमा ल्याएको छ । तर विद्यालय र ठूलो जमघट हुने स्थानहरूलाई अझै सञ्चालनमा ल्याइएको छैन । सिन्ह्वा