नयाँ दिल्ली । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घन्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख १२ हजार ५७० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ ।
पछिल्लो २४ घन्टामा भारतभर कोरोना भाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर कुल संक्रमितमध्ये तीन लाख १४ हजार ५४७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७६ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७९८ जनाको मृत्यु भएको छ ।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।
तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् । एएनआई