पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बुधबार रातिसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८२ हजार ३३७ पुगेको छ ।

त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३५ लाख ४ हजार ९८७ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ९२ हजार २४६ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

विश्वभर सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४९ हजार ४३८ भन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ३९ हजार १९९ रहेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३३ हजार ६५५ सङ्क्रमित हुँदा ७४ हजार ३३६ जनाको मृत्यु भएको छ ।

भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा छ भने चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा बुधबारसम्ममा सात लाख ४६ हजार ३६९ सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् ।

त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरु रहेका छन् ।

कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । एएफपी

तपाईको प्रतिक्रिया