पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिहीबार रातिसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८८ हजार ८१० पुगेको छ ।
त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३७ लाख ८७ हजार ८३० पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ८१ लाख ९३ हजार ४४७ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।
विश्वभर सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।
अमेरिकामा बिहीबारसम्ममा ३६ लाख ४१ हजार ५९२ भन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ४० हजार ४४२ रहेको छ ।
त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ७२ हजार ७२ सङ्क्रमित हुँदा ७५ हजार ५६८ जनाको मृत्यु भएको छ ।
भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा रहेको छ । यहाँ १० लाख १ हजार ८६३ संक्रमितमध्ये २५ हजार ५८९ जनाको मृत्यु भएको छ । चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा सात लाख ५२ हजार ७९७ सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ९३७ पुगेको जानकारी दिएका छन् ।
त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौँमा मेक्सिको, आठौँमा स्पेन, नवौँमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरु रहेका छन् । कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । एएफपी