जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणका कारण शनिबारसम्म ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

संगठनका अनुसार शनिबार रातिसम्म विश्वभरमा १ करोड ४२ लाख ५१ हजार २०० जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म ८५ लाख १० हजार ५८८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३९ हजार ८५० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ८१६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरुवात भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३७ लाख ७८ हजार १३८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४२ हजार २७६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख ७४ हजार ६७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख १५ हजार १४० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४४ लाख २४ हजार १९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ९४ हजार ५४३ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ५६ हजार २५९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८५५ को मृत्यु भएको छ । एसियामा ३२ लाख ९३ हजार ४९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७७ हजार ३२९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ८८ हजार ७३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ७४० जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ११७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४० जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया