
पेरिस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार रातिसम्म विश्वभर कुल मृतकको सङ्ख्या छ लाख छ हजार ४८३ पुगेको छ ।
त्यसैगरी विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४४ लाख ९७ हजार रहेको छ ।
मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेका छन् । युरोपेली देशहरु कोरोनाभाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन् ।
त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो । त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म एक लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ ।
देशअनुसार हेर्दा सबैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ । पछिल्लो विवरणअनुसार अमेरिकामा मात्रै एक लाख ४२ हजार ९२६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा ७८ हजार ८१७ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मानिसको मृत्यु भएको बेलायतमा ४५ हजार ३००, मेक्सिकोमा ३८ हजार ८८८ र इटलीमा ३५ हजार ४२ जनाले जीवन गुमाएका छन् । यस्तै, स्पेनमा २८ हजार ४२०, भारतमा २७ हजार ४२८ को मृत्यु भएको छ ।
अमेरिकामा सङ्क्रमितको सङ्ख्या ३८ लाख ४० हजार ९११ पुगेको छ भने ब्राजिलमा २० लाख ७५ हजार २४६ जना पुगेका छन् । यस्तै, तेस्रो प्रभावित मुलुक भारतमा ११ लाख ६ हजार १३५ जना संक्रमित छन् । एएफपी