नयाँ दिल्ली । भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९ हजार १६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख २० हजार ४३३ पुगेको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकै दिनमा ६७१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २९ हजार ५३१ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिले पनि ४ लाख १८ हजार ४१४ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ७२ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख २७ हजार ३१ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार २७६ व्यक्तिको मृत्यु भएको छ ।
त्यसपछि तमिलनाडुमा १ लाख ८० हजार ६४३ संक्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २५ हजार ९६ कोरोना भाइरस संक्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेशमा ५८ हजार ६६८ र कर्नाटकामा ७१ हजार ६९ र तेलङ्गानामा ४७ हजार ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । एएनआइ