चेन्दू, चीन । चीनले शुक्रबार दक्षिणपश्चिमी सहर चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावासलाई बन्द गर्न आदेश दिएको छ ।

संयुक्त राज्य अमेरिकामा रहेको चीनको एउटा नियोगलाई प्रतिबन्ध गर्ने अमेरिकी निर्णयको बदलामा अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको हो । अमेरिका र चीनबीचको शीत युद्द शैलीको कूटनीतिक व्यवहारले दुई देशबीचको सम्बन्धमा थप तिक्तता देखिएको छ ।

उक्त बन्दको घोषणा केही उच्च अमेरिकी अधिकारीहरूले चीनको ‘कडा व्यवहार’बारे दिएको चेतावनी र चिनियाँ नागरिकलाई संयुक्त राज्य अमेरिकामा विभिन्न विषयमा अभियोग लगाइएपछि भएको हो ।

चीनको परराष्ट्रमन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावासलाई सञ्चालन रोक्न आदेश गर्नु ‘संयुक्त राज्य अमेरिकाले गरेका अव्यवाहारिक कदमहरुका लागि वैधानिक र आवश्यक प्रतिक्रिया’ हो ।”

विज्ञप्तिमा भनिएको छ, “चीन–अमेरिका सम्बन्धको वर्तमान अवस्था चीनले हेर्न चाहेको होइन र अमेरिका यी सबैका लागि जिम्मेवार छ ।”

वाणिज्यदूतावास बन्द गर्ने निर्णय अमेरिकाले ह्युस्टन सहरमा रहेको चिनियाँ वाणिज्य दूतावासलाई शुक्रबारभित्र बन्द गर्न दिएको आदेशको बदलामा लिइएको कदम भएको चिनियाँ परराष्ट्र मन्त्रालयले बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरूसँग भने, “केही वाणिज्य दूतावासका कर्मचारीहरू ‘आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका गतिविधि’हरूमा सम्लग्न थिए । उनीहरूको गतिविधिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको ठहर गर्दै उनीहरूका कारण चीनको सुरक्षा र हितलाई खतरामा पारेको देखिएको छ ।”

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले यसै हप्ता ह्युस्टनस्थित चिनियाँ नियोग ‘जासूसी र बौद्धिक सम्पत्तिको चोरी’ गर्न उद्दत बनेको दाबी गरेका थिए । एएफपी

तपाईको प्रतिक्रिया