जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ६४ हजार ८८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार बुधबारसम्म विश्वभर एक करोड ६९ लाख ७० हजार ५८४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ५ लाख ९ हजार ३६८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख ९६ हजार ३३१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ५११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख ११ हजार ८३१ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५२ हजार ६२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।

गत २४ घन्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

दक्षिण अमेरिकामा ३८ लाख ५६ हजार ७४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३७ हजार ३६१ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५२ लाख ९२ हजार ६६३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख १२ हजार ९०४ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख २६ हजार १८१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३५५ को मृत्यु भएको छ ।

एसियामा ४० लाख ९७ हजार १३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९३ हजार ४८० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ७८ हजार ८५० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ५६७ जनाको मृत्यु भएको छ ।

ओसियानामा १७ हजार ३१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९९ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया