जोहानेसवर्ग । दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पसलगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन् । कोरोना महामारीको संक्रमण बढ्दो रुपमा देखिएका कारण दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको महामारी पछिल्लो समयमा निकै बढ्दै गएको छ । सोही कारण यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको यहाँको शिक्षा मन्त्रालयले जनाएको छ ।

यही जुलाई २७ तारिखदेखि यहाँका विद्यालयहरु बन्द भएका हुन् । यो बन्द आगामी अगष्ट महिनाको अन्त्यसम्म नै कायम रहने अधिकारीहरुले जनाएका छन् । सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दिएको बताइएको छ ।

दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरस ठूलो संख्यामा संक्रमण देखिएको बताइएको छ । यहाँ आजसम्ममा ५ लाख ११ हजारभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । त्यसैगरी यहाँ ८ हजार भन्दा बढी व्यक्तिको निधन भएको छ ।

यहाँ पछिल्ला दिनहरुमा निकै ठूलो संख्यामा संक्रमण बढ्दै गएको देखिएकोले शिक्षण संस्थाहरु बन्द गर्नुका साथै अरु विभिन्न नियन्त्रणका उपायहरु अपनाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एएनआई

तपाईको प्रतिक्रिया