काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख ३० हजार ८६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

सो संगठनका अनुसार आइतबार मध्यरातिसम्म विश्वभर एक करोड ९८ लाख ८१ हजार ४७० जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड २७ लाख ७३ हजार ६१० व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६३ लाख ७६ हजार ९९१ व्यक्तिको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ५९ हजार ३२० जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण एकै दिनमा ९७६ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यालयले जानकारी दिएको छ ।

यस्तै, दक्षिण अमेरिकामा ४७ लाख ८५३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ५८ हजार ४२० जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ६० लाख ७२ हजार ३७० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ३४ हजार २४ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ३४ हजार ८७२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार ११५ को मृत्यु भएको छ ।

एसियामा ५० लाख ८ हजार ९८४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख ८ हजार ९५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १० लाख ४० हजार ६८४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार २३ जनाको मृत्यु भएको छ ।

ओसियानामा २२ हजार ९८६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३२१ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा ।

तपाईको प्रतिक्रिया