
नयाँ दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण भएको सोमबार पुष्टि गरिएको छ ।
उनी हालै कोरोना भाइरसबाट सङ्क्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण पुष्टि भएपछि उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना भाइरसको परीक्षण गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार लेखेका छन्, “मलाई आज कोरोनाभाइरसको सङ्क्रमण भएको भएको छ, पछिल्लो हप्ता मेरो सम्पर्कमा रहनु भएका सबैलाई उच्च सतर्कताका साथ आफैँ एकान्तबासमा बस्न र कोरोना भाइरसको परीक्षण गर्न आग्रह गर्दछु ।”
भारतमा उमेरले ८० वर्ष पूरा गरेका नेताहरुमध्ये कोरोना भाइरसबाट सङ्क्रमित भएको उनी पहिलो व्यक्तित्व भने होइन, यसअघि अरु पनि धेरै वद्ध नेताहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।
केन्द्रीय गृहमन्त्री अमित शाह, राज्यमन्त्री अर्जुनराम मेघवाल, प्रदेशका कृषिमन्त्री कैलाश चौधरीलगायतलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि गरिएको थियो ।
त्यसैगरी तमिलनाडुका गभर्नर बनवारीलाल पुरोहित, मुख्यमन्त्री बिएस येडियुराप्पा, कर्नाटक प्रदेशका स्वास्थ्यमन्त्री बी श्रीरामुलुलगायतलाई पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा ६२ हजार ११७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
दैनिक हजारौँको संख्यामा सङ्क्रमण देखिए पनि भारतमा अहिलेसम्म १५ लाखभन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका कारण १०१३ जनाको मृत्यु भएको जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या ४४ हजार ५९७ पुगेको छ । एएनआई