नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ ।

मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा वृद्धि हुँदै गएको जनाएका छन् ।

सङ्क्रमणमुक्त भएकाहरुमध्ये केही अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितहरु रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरु रहेका छन् ।

भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयद्वारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना सङ्क्रमणमुक्त भएको उल्लेख गरिएको छ ।

अधिकारीहरुका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या छ लाख ६८ हजार २२० रहेको छ । यो संख्या कुल सङ्क्रमितको २६.४५ प्रतिशत मात्रै हो ।

भारतमा सङ्क्रमणमुक्त हुनेहरुको संख्या जसरी बढिरहेको छ परीक्षण गर्ने क्रम पनि उत्तिकै बढाइएको छ । पछिल्लो २४ घन्टामा आठ लाख ६८ हजार ६७९ जनाको परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म दुई करोड ८५ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । एएनआई

तपाईको प्रतिक्रिया