जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड ३३ लाख ८२ हजार ८१७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर आठ लाख ८ हजार ७०१ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ । आइतबारसम्म विश्वभरमा एक करोड ५९ लाख ९ हजार ६९६ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६६ लाख ६४ हजार ४२० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ६८० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५८ लाख ४१ हजार ४२८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८० हजार १७४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५७ लाख १५ हजार ८१९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ८७ हजार ७५७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख २ हजार ७४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ५८ हजार ७२१ जनाको मृत्यु भएको छ ।

युरोपमा ३३ लाख ३५ हजार ३०४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ११५ जनाको मृत्यु भएको छ । एसियामा ६२ लाख १७ हजार ८५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २८ हजार ९१५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ११ लाख ८३ हजार १८२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७ हजार ६४९ जनाको मृत्यु भएको छ । ओसियनामा २७ हजार १९५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ५२९ को मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया