नयाँ दिल्ली । कोरोना भाइरसबाट भारतमा कुल सङ्क्रमितको संख्या ३८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३८ लाख २३ हजार ४४९ पुगेको हो ।

तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कुल सङ्क्रमितमध्ये २९ लाख ४६ हजार ९२० अर्थात् ७७ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६७ हजार १५५ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो । भारतमा अहिले पनि आठ लाख ९ हजार ३७४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभर दुई करोड ६० लाख ८ हजार ५०९ जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म आठ लाख ६३ हजार १३६ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ ।

मृत्यु भएका र सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । कोरोनाभाइरसको उत्पत्ति भएको मानिने चीन भने अहिले संक्रमितहरुको संख्याका आधारमा ३८ औँ स्थानमा रहेको छ ।

पछिल्लो विवरणअनुसार अमेरिकामा ६२ लाख ६८ हजार ५०७ जना सङ्क्रमित हुँदासम्म एक लाख ८९ हजार २२७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना सङ्क्रमित रहेकामा एक लाख २२ हजार ६८१ जनाको मृत्यु भएको तथ्यांक छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशमा पुगेको छ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोरोनाको संक्रमण चीनको उहान सहरमा देखिएको थियो । डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोरोना फेब्रुअरीदेखि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हुँदै विश्वभरी फैलिएको हो ।

यो संक्रमण फैलाउने विषाणुलाई नयाँ कोरोनाभाइरस भन्ने गरिएको छ । विश्वभरी फैलिएर सबैलाई प्रभावित पारेको यस्तो संक्रमणको अहिलेसम्म पनि औषधि प्रमाणीकरण हुन सकेको छैन । कतिपय वैज्ञानिकहरुले औषधि बनाइएको दाबी गरे पनि ती सबै अहिले परीक्षणकै चरणमा रहेका छन् ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् । अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेश्रो चरणअन्तर्गत ठूलो संख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ । पिटिआई

तपाईको प्रतिक्रिया