नयाँदिल्ली । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकैदिन झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् । एकैदिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

पछिल्लो विवरणअनुसार गत २४ घन्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या ४४ लाख ८२ हजार १७१ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितमध्ये नौ लाख २३ हजार ९३५ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् ।
मन्त्रालयका अनुसार अरु ३४ लाख ८३ हजार ३९ जना भने कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म ७५ हजार १९७ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । तीमध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतका प्रदेशहरुमध्ये सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घन्टामा २३ हजार ८१६ जना सङ्क्रमित भएका छन् ।

महाराष्ट्रमा अहिलेसम्म कुल नौ लाख ६७ हजार ३४९ जना सङ्क्रमित भएका छन् भने तीमध्ये दुई लाख ५२ हजार ७३४ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् । त्यहाँ अहिलेसम्म २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य विभागले जनाएको छ । एएनआई

तपाईको प्रतिक्रिया