वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका छन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति हुने जनाइएको छ ।

यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए । अहिलेसम्म उनलाई नै सबैभन्दा बूढो राष्ट्रपति मानिँदै आएको थियो । उमेर र स्वास्थ्य दुवै दृष्टिकोणले बाइडेनभन्दा ट्रम्प चार वर्ष कान्छो भएको समाचारमा उल्लेख गरिएको छ ।

उमेरको हिसाबले बाइडेन वृद्ध भए पनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनी रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरुले बताएका छन् ।

बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिस भने उनीभन्दा झण्डै २० वर्ष कान्छी छिन् । बाइडेनले आफूलाई अन्तरिम राष्ट्रपतिको रुपमा व्याख्या गरेकाले दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी नदिने संभावना रहेको छ ।

उनी यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए । त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर भएका थिए । उनी सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रुपमा उभिएका थिए । तर, बेलायती एक राजनीतिज्ञको भाषण अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि उनी पछाडि परेका थिए ।

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० अमेरिकाको पेन्सिल्भेनिया राज्यअन्तर्गत पर्ने स्क्रान्सटनमा भएको हो । उनलाई पटकपटक पारिवारिक शोक परेको थियो । उनकी पहिलो पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भएको थियो ।

सिनेटमा पहिलो पटक चुनाव जितेपछि शपथग्रहण गर्न जाँदै गर्दा दुर्घटनामा परेर नेलिया र नाओमीको मृत्यु भएको हो । दुर्घटनामा दुई छोरा पनि घाइते भएकामा बो बाइडेनको २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कसम्बन्धी समस्याका कारण मृत्यु भएको थियो । उनी चौथो सन्तान हुन् ।

उनले उच्च शिक्षाअन्तर्गत कानुन अध्ययन गरेका थिए भने अमेरिकामा लामो समय निरन्तर राजनीतिमा सक्रिया नेताका रुपमा चिनिन्छन् । एपी

तपाईको प्रतिक्रिया