– कविकिरण न्यौपाने

नेपाल – जापान सम्बन्ध औपचारिक रुपमा शुरु भएको ६ दशक पुगि रहदाँ आज भन्दा १ सय १० वर्ष अगाडी देखी नै नेपाली जापान आएको ईतिहास छ। २०४६ सालमा प्रजातन्त्र प्राप्ति पछि अन्य देशहरु जस्तै जापानमा पनि नेपालीहरु आउने क्रम बढेको पाईन्छ ।

विश्वकै विकशित देशहरु मध्ये पर्न सफल जापानमा धेरै नेपालीको चाहाना एक पटक आउने हुन्छ । त्यसैले जापानमा नेपालीहरुको जनसंख्या वढि रहेको छ । करिब १३ करोड जनसंख्या भएको जापानमा एक लाखको हाराहारीमा नेपालीहरु रहेका छन् भने विदेशीहरुको जनसंख्या ३५ लाख जती रहेको छ । नेपालीहरु जापानमा अध्ययन, रोजगारी, व्यवशाय र घुम्नका लागी आउने गर्छन। जापान आउनु मात्र ठूलो कुरो होईन । यहाँ आएर आफ्नो लक्ष्य पुरा गर्न सकिन्छ कि सकिदैन त्यो महत्वपूर्ण हुन्छ । अर्थात जापान आएर लक्ष्य पुरा कत्तिको सहज छ त्यसमा ध्यान जान जरुरी छ।

पछिल्लो तथ्याङ्ग अर्थात सन् २०१९ मा जापानमा नेपालीहरुको कुल संख्या ९६,८२४ जना पुगेको छl डिपेण्डेन (परिवारमा बस्ने भिषा) भिषामा २९,९९२ जना , विधार्थी भिषामा २९,४१७ जना , स्किल लेवर भिषा ( कुक) १२,६७९ जना , स्किल टेक्नेशिएन र दोभाषे भिषामा १२,२०३ जना , स्थाई भिषा मा करिब करिब ५,१११ जना , विजनेश भिषा करिब १,७०० जना, परिक्षार्थी भिषामा ४२१ जना र बांकी अरु बिभिन्न भिषामा बसेका नेपालीहरुको संख्या करिब ५,३०१ जना छ्न । त्यस बाहेके ईलिगल बसेकाको बिवरण यहाँ जोडिएको छैन।

जापान आउने प्राय नेपालीहरुलाई पहिलो समस्या भाषाको पर्छ। धेरै जापनिजहरुले अंग्रेजी नजान्ने हुदाँ यहा सामान्य जापनिज भाषा जान्नु आवश्यक पर्छ। पछिल्लो समय प्रशिक्षार्थी कामदारको रुपमा जापानले नेपालबाट कामदार ल्याउने निर्णय गर्यो तर जापनिज भाषा कमजोर भएकै कारण नेपालीहरु जापान आउन पाएनन । सन् २००० पछि जापानमा उल्लेख्य रुपमा नेपाली बिद्यार्थीहरुको सख्या बृद्धि हुदै गयो । हाल जापानामा करिब ३० हजारको हाराहारीमा नेपाली बिद्यार्थीहरु रहेकोमा जापानिज भाषा स्कुल , भोकेशनल कलेज ( सेम्मोन गाक्को ) र विश्व विद्यालयमा अध्यन गरिरहेका छन । साधारणतय नेपालीहरु शुरुमा जापानिज भाषा पढ्नका लागी भाषा स्कुलमा आउछन , करिब २ बर्षको भाषा पढेपछि भोकेशनल कलेज अथवा विश्ब विद्यालय मा भर्ना भएर आफ्नो पढाइ अगाडि बढाउछन । पार्ट-टाइम काम गर्दै पढाई, कलेजको फि र खान बस्न सबै-आफैले व्यवस्था गर्न पर्ने हुदा सबैले व्यस्थ जिवन बिताईरहेका हुन्छन । पढाइ सकेपछि जापानमै काम गर्ने चाहाना भएता पनि सबैले काम पाउदैन्न , मात्र करिब ३० प्रतिशत नेपाली विधार्थीहरुले जापानमा पढाई सकेपछि रोजगारी पाउने गरेका छन् । धेरैले भने जापानको कानुन अनुसार तोकिएको भन्दा वढी काम गरेर धेरै नेपालीहरुलाई फिर्ता गरिने गर्छ। ति बाहेक जापानमा नेपाली विद्यार्थीले सहज संग रहनका लागि शुरु देखि योजना बनाएर हिड्ने , जापनिज भाषा अध्ययनमा ध्यान दिदैं विभिन्न समयमा हुने भाषा परिक्षामा समावेश भई राम्रो ग्रेड ल्याउने, आफुले गर्ने काम र सोही अनुसारको विषय हेरी पढ्ने गरेमा अध्ययन पछि काम पाउन सजिलो हुन्छ र जापान बसाई सहज हुन्छ।

जापानमा कामका लागि आएका स्किल लेवर तथा कुक को केहिको राम्रै काम र दाम छ भने केहिको विजोग देख्न सकिन्छ। जापानमा जुन कामका लागि भनेर आईएको हो त्यो भन्दा अरु काम गर्न पाईदैन । त्यस्मा पनि कामै नसिकी आएका नेपालीहरुको जापानमा बिचल्ली हुने गर्छ। साथै जापानमा इण्डियन तथा नेपाली रेष्टुरेन्टहरु धेरै नेपालीकै हुने र नेपाली बाट नेपालीनै पिडित हुने धेरै घटना आउछन्। जहाँ कुकहरुलाई जापनिज सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने , लामो समय काममा लगाउने, नियम अनुसार बिदा नदिने गर्ने गरिन्छ । जापानमा नेपालीको लागी भनेर खोलिएका सयौं संघ संस्थाहरु छन् । ति संघ संस्थाहरुको त्यस प्रति ध्यान जान जरुरी छ। जापानमा रहेको नेपाली दुतावास बाट पनि केवल दुतावास जापान छ हैं भन्ने मात्र गतिविधी हुने गरेको छ । नेपालीका लागी दुतावासले खासै सोचेर काम गरेको पाईन्न ।

त्यस्तै जापानमा आएका स्किल लेवर, विधार्थी, व्यवशायीका श्रीमति तथा छोराछोरीहरु डिपेण्टेन भिषामा आएकाहरु पनि समस्यामा परेका देखिन्छन । उनिहरुले हप्तामा २८ घण्टा भन्दा बढी काम गर्न पाउँदैनन र पनि उनिहरुले नियम विपरित वढि काम गरिरहेका हुन्छन । र उनिहरु को जापनिज ईमिगेशनले वर्क परमिट नदिने र नेपाल र्फकाउने गर्छ। जापानमा नेपालीहरुको व्यवशायमा पनि आर्कषण बढेको पाईन्छ र पनि विभिन्न कारणहरु जस्तै व्यवशाय सम्बन्धी ज्ञानको कमि , जापनिज भाषा नआउनु आदी कारणले सबैलाई भने सफलता मिल्दैन । जस्का कारण ऋण लागेर बसेका नेपालीहरु पनि जापानमा रहेका छन्।

जापानमा छोटो समयको लागि भनेर कुनै कार्यक्रमको लागि तथा भिजिट भिषामा आई विभिन्न कारण देखाई शरणार्थीको रुपमा बसेका नेपालीहरु पनि बाक्लै भेटिन्छन। उनिहरुलाई उनिहरुको मुद्धा किनारा नलागेसम्म जापान सरकारले भत्ता तथा निश्चित समयको लागि काम गर्ने अनुमति दिने गर्छ। तर यतिवेला नेपालीहरु कुनै कारण कुनै देशमा शरणार्थी बन्न नपर्ने भन्दैं नेपाल र्फकाइरहेका घटना आइरहेका छन्।

संक्षेपमा भन्नु पर्दा जहाँ जुन सुकै क्षेत्रमा पनि कडा मिहेनत तथा लगनशिलता नभई सफलता हात पार्न सकिदैन । त्यस्मा पनि विदेशमा आउँदा त्यस देशको रहन -सहन, भाषा , अवशर, नियम कानुन बुझेर आउँदा धेरै सहज हुने गर्छ।

(प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष रहेका न्यौपाने नेपाल पत्रकार महासंघ, जापान साखाका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार हुन्। )

तपाईको प्रतिक्रिया