
विश्व अहिले कोरोना भाइरसबाट त्राही त्राही भएको बेला नेपाल सरकारले पनि आफ्नो जनताको जीवन बचाउन देशलाई पूर्णरुपमा लकडाउन गरेको छ । तर, यहाँका केही मानिसहरु अनेकौ बहाना गरेर बाहिर निस्कने घुम्ने गरिरहेका छन् । मानौँ हामी अन्य बेलामा पार्टीहरुले गरेको विरोध कार्यक्रमलाई अवज्ञा गरेजस्तै गरी । सुरक्षाकर्मीले देखेसम्म त्यस्तालाई नियन्त्रणमा लिने पनि गरेको छ । विश्वमा नै यो भाइरसबाट बच्ने एकमात्र उपाय भनेको लकडाउन हो । लकडाउनको अर्थ कमभन्दा कम मानिस यसको संक्रमणमा परुन् भन्ने हो । किनकि आजको मितिसम्म यसको औषधि बनेको छैन । हाम्रोजस्तो अल्पविकसित मुलुक जहाँ स्वास्थ्य सेवा अझै पूर्णरुपमा जनताको पहुँच बाहिर छ । यहाँ रोग फैलियो भने जुन विकराल रुप लिन्छ । त्यसको कल्पनासम्म पनि गर्न सकिँदैन ।अहिले कोरोना भाइरसबाट सबै नेपालीलाई कसरी बचाउनेभन्दा पनि केही उद्दण्ड व्यक्तिहरु राजनीति गर्न र अनावश्यक हल्ला गर्न व्यस्त देखिन्छन् । नेपाल सरकार आफ्नो पहुँचले भ्याएसम्म आफ्नो नागरिकलाई बचाउन लागिपरेको छ तर त्यहिँ उद्दण्ड व्यक्तिहरुले सरकारको आलोचनामात्रै गरिरहेका छन् । त्यो आलोचना पनि हल्लाको भरमा केही नबुझी ।
अहिले यो विपतको बेलामा राज्यलाई साथ दिनुको सट्टा कसैले मध्यावधि चुनावको माग गरेको देखिन्छ । सम्पूर्ण विश्व नै शताब्दीकै सबैभन्दा कठिन स्थितिबाट गुज्रिरहेको बेला यसलाई अवसरको रुपमा लिन खोज्ने हाम्रो देशको राजनीतिक पार्टी देख्दा अचम्मभन्दा पनि लज्जाको अनुभूति हुन्छ ।
हातमा हात मिलाएर सरकारभन्दा एक कदम अगाडि बढेर यो विषम परिस्थितिको सामना गरे भने स्वतः अर्को चुनावमा जनताले अवसर दिइहाल्छन् । तर, त्यति समय पनि कुर्न सक्ने क्षमता हाम्रा राजनीतिक पार्टीहरुमा देखिएन । सरकारमै रहेका केही पदाधिकारीहरुले पनि गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिइरहेका छन् । सम्बन्धित विज्ञहरुको सल्लाह र सुझाव लिई त्यसैअनुरुप चलिरहेको विश्वका अन्य देशहरुको परिवेशमा हाम्रा मन्त्री तथा सचिवहरुचाहिँ अनुमानका भरमा वक्तव्यबाजी गर्नमै व्यस्त छन् । कीट सामग्री, पिपिई, भेन्टिलेटरलगायत अत्यावश्यक सामग्रीहरु कसरी छिटो जोहो गर्नेभन्दा पनि हचुवाका भरमा आइसोलेसन सेन्टर खडा गर्नमा व्यस्त छन् । यसले रोग नियन्त्रण होइन बरु फैलाउनमा भूमिका खेल्छ ।
नेपाल सरकारले सबै विपन्न नागरिकहरुलाई राहत एकद्वार प्रणालीबाट बाँडिने निर्णय गर्दागर्दै पनि केही धनाड्यहरु आफूहरुलाई कथित समाजसेवी हो भन्ने देखाउन आफूखुसी राहत बाँड्दै हिँडेका छन् । अझ सोसल मिडियामा कसरी आफूलाई देखाउने भन्नेमा नै प्रतिस्पर्धा चलिरहेको छ । मानौँ यो समय भनेको आफूलाई कसरी विज्ञापन गर्ने भन्नेमा व्यस्त छन् । अहिले जसलाई राहत आवश्यक परेको छ, जो यसको हकदार छन् । उनीहरु सोझै मिडियामा देखिन चाहँदैनन् । किनकि उनीहरु श्रमिक भए पनि, मजदुर भए पनि आफूले माग्दै गरेको तस्बिर सोसल मिडियामा देखिन चाहँदैनन् । किनकि यो उनीहरुको बाध्यात्मक अवस्था हो । राहत दिन विज्ञापन नै गर्नु पर्दैन । सम्बन्धित ठाउँमा गएर पनि दिन सकिन्छ । यो रहर होइन बाध्यता हो । अहिलेको यो महामारीबाट आफ्ना नागरिकलाई बचाउने काम सरकारको मात्र होइन भन्ने पनि सबै राजनीति दलले बुझ्नुपर्ने हुन्छ तर नेताहरु दुलोभित्र पसि राजनीति गर्ने चारो जनतालाई फालिरहेका छन् । आफू पनि नगर्ने र सरकारले गर्न खोज्दा पनि गर्न नदिने भालुको प्रवृत्ति निभाउँदै छन् । घरमा बसेर राजनीति गर्नुभन्दा ती नेताहरु बाहिर आएर गरे जनताको जीवन केही मात्रामा भए पनि सहज हुनसक्थ्यो होला ।
हामी नेपालीको बानी कस्तो छ भने कान नछामी कागको पछाडी डौडिने प्रवृत्तिको छ । हिजो दिपावली गर्ने भनेर एउटा भ्रामक समाचार फेसबुकमार्फत भाइरल भयो । हामी त्यही नेपाली हौँ जसको वास्तविकता नै नबुझी दिपावली गर्न व्यस्त भयौँ । कसैले मानिसको भीडभाड कम भएको कारण सौराहामा हरिण मृग बजारमा भनेर विदेशको फोटो पोष्ट गर्दा अधिकांश नागरिकले त्यो फोटो कहाँको हो भन्ने बुझ्दै नबुझी आ–आफ्नो फेसबुकमा सेयर गर्न व्यस्त भए । हाँसो लाग्छ आफूलाई नेपालको बुद्धिजीवी भन्नेले पनि सो फोटो सेयर गरेको देख्दा । यसबाट के प्रष्ट हुन्छ भने हाम्रो सोसल मिडिया कतिसम्म बेलगाम घोडा भइसकेको छ । यहाँ हरेक मान्छे डाक्टर देख्न पाइन्छ । हरेक मान्छे स्वास्थ्यविज्ञ, मन्त्री देख्न पाइन्छ । यतिधेरै भ्रामक र अपुष्ट समाचारहरु सेयर हुन्छ जसले गर्दा साँचो र आवश्यक सूचना लगभग मानिसले पाउनै छाडिसके । कुन सही र कुन गलत भन्ने छुट्याउन नै गाह्रो भइसक्यो । भर्खरै पोष्ट भएको इटालीमा पैसा फालिएको एउटा फोटो जुन केही वर्ष अगाडिको हो ।
तर, यसलाई हालसालैको घटनासँग जोडेर पोष्ट गरिएको छ । यसैबाट स्पष्ट हुन्छ नेपालीहरु हल्लाको पछाडी दौडिन्छन् र यसलाई मलजल गर्ने काम सोसल मिडियाले गरिरेको छ भनेर र अहिले भएको सरकारविरोधी काम पनि तेस्तै हल्ला पछाडी दौडिएजस्तै हो । पछिल्लो समय विकसित भइरहेको अनलाइन मिडिया, इलेक्ट्रोनिक मिडियाले केही मात्रामा नेपालीलाई भ्रामिक बनाउने काम गराउँदैछन् । कोरोना नभएको मानिसलाई कोरोना भएको छ भन्दै प्रचारबाजी गर्ने राष्ट्रिय टेलिभिजन पनि यही छ र सही समाचार दिनेभन्दा पनि कसले पहिले दिने भन्ने होडबाजीमा गलत समाचार प्रशारण र प्रकाशन हुने क्रम बढ्दो छ । सरकारको विश्वास गरौँ । यदि तपाईंसँग सरकारले गलत गरेको छ भन्ने सही सूचना छ, प्रमाण छ भने विरोध गरौँ तर बुझ्दै नबुझी हल्लाको भरमा कान खोज्न कागको पछाडी नदौडौँ । सहयोग गरौँ तर फोटो खिच्नको लागि होइन वास्तविक समाजसेवी बन्नको लागि ।
(लेखकः स्मल हेभन मोडेल स्कुलकी शिक्षिका एवं साइकल तथा सरसफाइ अभियन्ता हुन् ।)










