-केशव तिवारी ‘घायल’

विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल लकडाउनमा छ । नेपालमा लकडाउनका कारण हामी सबैले घरघरमा बसेर यो रोग नियन्त्रणका लागि सहयोग गरिरहेका छौँ।
सरकार कोरोनाबाट बच्नका लागि विभिन्न उपाय जनतालाई दिइरहेको छ जुन करिब ५० दिन ढिला भइसकेको थियो । कोभिड १९ ले विश्व आतंकित बनेको छ । वैज्ञानिकहरु यो रोगको उत्पत्ति र नियन्त्रणका लागि निचोडमा पुगेका छैनन् । नेपालको छिमेकी मुलुक चीनमा कोरोनाको पहिलो संक्रमण देखिएपछि क्रमिकरुपमा यो रोगले विश्वभरका मानिसलाई आक्रान्त बनाइरहेको छ । नेपाल पनि यो रोगबाट बच्न सकेन । यहाँ हालसम्म परीक्षण गरिएका जम्मा मान्छेहरुमध्ये ९ जनालाई कोभिड-१९ देखियो । जसमा एक जना निको भइसकेका छन् । परीक्षण गर्नुपर्ने मानिसहरु धेरै छन् । नेपालमा यस रोग परीक्षण गर्ने प्रविधि सीमित अस्पतालमा मात्र छन् । अस्पतालले हाल परीक्षणका लागि आवश्यक पर्ने कीट पाइरहेको छैन। ज्वरो आउने तथा खोकी लाग्ने समस्या अहिलेको महामारीको रुपमा फैलिएको छ, जुन कोरोनाको लक्षण हो ।

सरकार कोरोनाको परीक्षणमा डाक्टरहरुले प्रयोग गर्ने पिपिई खरिदका लागि यताउता भौंतारिइरहेको छ । हालै सरकारले कोरोना परीक्षण तथा सावधानीको लागि विभिन्न सामग्री टेन्डर प्रक्रियाबाट खरिद गरेको छ ।

महामारीको यो समयमा सरकारका मन्त्रीहरु खरिद गरिएको सामग्रीमा मन्त्रीले नै भ्रष्टाचार गरेका समाचारहरु सुन्दा जनताको मन भाँचिएको छ । जनताकै मतले सांसद् तथा मन्त्री बनेकाहरु जनताकै खुनपसिना चुस्नमा व्यस्त हुँदा भोट गलत ठाँउमा लगाएको भन्दै आमजनताले पश्चाताप गरिरहेका छन् ।

डुब्लिकेट सामान महँगोमा खरिद गरेर अकुत सम्पत्ति कमाउने सरकारका पदाधिकारीहरुमध्येका प्रधानमन्त्री आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई कारबाही गर्नुको साटो बचाउमा लागेका देखिन्छन् । प्रधानमन्त्रीका विश्वास पात्रहरु नै भ्रष्टाचारमा लिप्त हुँदा प्रधानमन्त्री नै चुप लाग्नुमा भ्रष्टाचारमा प्रधानमन्त्री स्वयं पनि संलग्न छन् कि भन्ने आशंका जनताले गरिरहेका छन् ।

सरकार ५ वर्षको लागि बनेको हो । त्यसपछि बाँचियो भने देशमा निर्वाचन हुन्छ । अहिलेको परिस्थति भनेको कोरोना रोगसँग तन मन र धन लगाएर यसबाट बच्ने हो । तर, सरकार यसलाई पैसा कमाउने मौकाको रुपमा लिइरहेको छ । सरकारका मन्त्रीहरुले आफू र जनता बाँचेमात्र यो देश बच्छ भन्ने कुरा भुसुक्कै बिर्सिएका छन् । सरकार अवसरवादी बनेको छ । लकडाउनले कतिपय जनता भोकै मरिरहेको समाचार आइरहेका छन् तर सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।

अब यो सरकारसँग जनताले के अपेक्षा गर्ने ? यही सरकार कहिले चाउचाउ र बिस्कुट खाएर अहोरात्र खटिएका सुरक्षाकर्मीको तलब कटौती गर्छु भन्छ त कहिले डक्टरहरुलाई नै आतंकित बनाउँछ । अनि आफूचाहिँ क्वारेन्टाइनमै बसेर राज्यको ढुकुटी दोहन गरिरहन्छ । यस्तो विषम परीस्थितिमा अब सबैले घरमै बसेर यो सरकारको विकल्प खोज्न सकेनौँ भने इतिहासले हामीलाई धिक्कार्ने छ । जबसम्म हामी सक्षम निडर र निरोगी राजनेता छान्न सक्दैनौँ तबसम्म हाम्रो राष्ट्रवाद नक्कली राष्टवादमा रुपान्तरित हुने पक्का छ । (गैँडाकोट)

तपाईको प्रतिक्रिया