…मेरी रानीलाई देखेर कतिले घुटुक्क थुक निल्छन् । कतिले अँगालो मारेर सन्तोष मान्छन् । कतिले काखैमा राख्ने कोसिस गर्छन् । कतिका दाउ छात्तीमै टाँस्ने पनि हुँदो हो…। ‘फ्लाइङ किस’ गरेरै भए पनि प्रेम दर्शाउने जमात पनि बढ्दो छ । मेरी रानीलाई पल्लो घरको कालेले बारम्बार आँखा झिम्क्याइरहन्छ । कहिले के–के इशारा गर्छ, कहिले सुस्तरी बोलाउँछ । म रानीको कति ख्याल गर्छु । तर, मेरो कुरालाई रानीले खासै ‘सिरियस’ लिन्न । जबदेखि रानीलाई मैले आफ्नो स्वामित्व बनाएँ । त्यस बेलादेखि उसका हरेक दुःखमा, सुखमा, गल्तीमा, इच्छामा मैले साथ दिँदै आएको छु । उसको सेवामा खटिनु मेरो दैनिकीजस्तै बनेको छ । उसका ‘फर्माइस’हरुमा मैले कहिल्यै ‘इग्नोर’ गरेको छैन । उसका खानादेखि नानासम्म, चाहनादेखि बहानासम्म, सपिङदेखि स्वीमिङसम्मको सेवामा हाजिर भइरहेकै छु । मानौँ, रानीका लागि म एउटा ‘टाइम किपर’ हुँ ।

उसको अधिकार हनन् गर्ने दुष्प्रयास पनि मैले कहिल्यै गरिनँ । उसको बर्थडेदेखि क्रिसमस डे, न्यू एयर र नेपाली ‘रिमिक्स’ चाडपर्वहरु ‘सेलिब्रेट’ गरिरहेकै छु । र, हरसम्भव उसका ‘डिमान्ड’हरु मैले पु¥याउँदै आएको छु । मेरी रानी मसँगै हुँदा मान्छेहरु डाहाले मर्छन् । रानीको मन चोर्न अनेक तिकडम लगाउँछन् । म हरेक पल सर्तक हुन्छु । किनकि, रानी मात्र मेरी हो– मनकी, मायाकी र मुटुकी…। रानीबिना म अपूरो हुन्छु, अधुरो हुन्छु र नितान्त एक्लो पनि हुन्छु । थाहा छैन, रानी नभए म कतिसम्म रून्छु होला ? उसको ‘स्लिम’ ज्यान, चम्किलो आँखा र सानो नाक मलाई औधी मन पर्छ । रानी संगीतको पारखी पनि छे । एउटा ‘इयरफोन’ मेरो कानमा हुँदा अर्को उसको कानमा नभएको कुनै क्षण हुँदैन । नृत्यमा रानीलाई माथ गर्ने कुनै महारानीहरु छैनन् होला । राम्रीमा ऊजति राम्री अप्सराहरु पनि नहुनु पर्ने हो । उसले गाएका गीत सुनेर ट्वाल्ल नपर्ने को होला र ? यस्ती रानीलाई म यस वर्षको भ्यालेन्टाइन किन ‘वीस’ नगरुँ ?
– –०००– –
…समय–समयको कुरा हो । यस्तैगरी, भ्यालेन्टाइन वीस गर्न म केही वर्षअघि यस्तै अभीप्साका साथ एउटा रातो गुलाबको पूmल बोकेर कसैको प्रतीक्षामा थिएँ । त्यो गुलाबको फूल हाँसीहाँसी कसैको हातमा हस्तान्तरण भएको थियो । खैर, त्यो फूलको अस्तित्व अहिले छैन । तर, यतिबेला भने त्यो गुलाबको फूल र फूलवालीको स्मरण भइरहेछ । फूल प्रतीक मात्र हो, सारमा फूल त कहिल्यै मर्र्दैन मायाजस्तै । फूल सधैँ फूलै बनेर त फुल्छ, फुलिरहेछ र अनन्तसम्म फुलिरहन्छ । यो फुल्ने प्रक्रिया निरन्तर चलिरहन्छ । जसरी भ्यालेन्टाइन डे हरेक वर्ष मनाइन्छ । कहिले फूलैफूलबीच, कहिले फूलबिना र कहिले फूलको खोजीमा । यसपटक म रानीसँग नै भ्यालेन्टाइन मनाउन गैरहेको छु । विगतका भ्यालेन्टाइन्स्हरु ओइलिए, झरे र कतै बिलाए क्षितिजपारि ।
भ्यालेन्टाइनलाई प्रणय वा प्रेमदिवसका रुपमा मनाउने चलन छ । यो आयातीत नै किन नहोस्, अहिले हाम्रो आफ्नै संस्कृतिका रुपमा यसलाई अंगीकार गर्नु परेको छ । हरेकले साथीसँगीबीच, जीवनसाथीबीच र नयाँ प्रेमीबीच प्रेम आदानप्रदान गरेर, नवीकरण गरेर वा नयाँ सम्बन्ध स्थापित गरेर यो दिवस मनाउँछन् । आफूले हृदयदेखि नै मन पराइएकालाई गुलाबको फूल दिएर यो दिवस मनाउने हो । कति युगल जोडीहरु भ्यालेन्टाइन डे मनाउन आतुर छन् । कतिले नयाँ ‘प्रपोज’को योजना बनाएर ढुकढुकी बढाइरहेका होलान् ! यसपालि रानीलाई रातो फूल दिएर तातो माया साटासाट गर्ने मेरो तयारी छ । किनभने, बिनातयारी भ्यालेन्टाइन मनाउँदा धोका पाइएका दृष्टान्तहरु अहिलेसम्म ताजै छन् । ‘वीस’ गर्नेको निक्र्यौल नहुँदा मन खिन्न पनि त हुनसक्छ । यो डिजिटल युगमा गुलाबको फूल दुर्लभजस्तै भइसकेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका डिजिटल फूल शेयर गरेर पनि भ्यालेन्टाइन मनाउनु पर्ने नियति धेरैको छ । म भने बगैँचाकै ताजा फूल टिपेर मेरी रानीलाई वीस गर्दैछु ।
– – ००० – –
टोलका तन्नेरीहरु रानीको मानमर्दन गर्छन् । आफूलाई बिहानको चियासमेत रानीसँग शेयर गरेर नखाए चित्त बुझ्दैन । उसका नित्य खाजामा मटन मःमः, मिक्स पिज्जा र चिकेन मन्चुरियन पर्छ । मलाई औसत आलु, चना र चिउरामै चित्त बुझ्छ । उसले इटालियन साबुन, अमेरिकन लोसन र जापानिज पफ्र्यूम प्रयोग गर्छे भने मलाई चमेलीको तेल मन पर्छ । रानीको सपिङका लागि समर्पित हुँदाहुँदै म ‘ब्रान्ड कन्सस्’ हुन चाहेर पनि सक्दिनँ । रानी खर्चालु भए पनि उसको मायाको अगाडि पैसा ठूलो कुरा होइन । सकभर राम्रो गर्नु र सकारात्मक सोच्नु मेरो धर्म नै हो । तर दुःखको कुरा, रानीलाई जवानीको मात चढेको मैले भेउ पाउनै सकिनँ । मान्छेहरुले रानीका बारेमा तथानाम भने पनि मसँग सहनुभन्दा उपयुक्त विकल्प हुँदैन । रानीकै कारण गाउँछिमेकमा नराम्रो हुनु परे पनि मैले चित्त बुझाएकै थिएँ । रानीको नित्यकर्मदेखि डिनरसम्म अनवरत हाजिर हुँदै आए पनि म भ्यालेन्टाइन डेकै दिन नितान्त एक्लो बन्न पुगेको छु । अर्थात्, यो भ्यालेन्टाइन मेरा लागि खल्लो, अलिनो र बेस्वादको हुन पुगेको छ ।
–––०००–––
रानी भ्यालेन्टाइन डे परेकै दिन अर्थात् आज झिसमिसेमा पल्लोघरको कालेसँग टाप दिइछ । यसपटकको भ्यालेन्टाइनमा यही रानीलाई रातो गुलाब दिने मेरो सपना हुरीले उडाएझैँ भएको छ । टोलका तन्नेरी युवाहरुले रानीलाई कुकुर्नी भन्दा मैले कति छाक भात नै नखाएको अनुभव मसँग छ । अहिले त्यही पल्लोघरको काले कुकुरले भ्यालेन्टाइन डेमा मौका छोप्यो । प्रेमको कुनै बन्धन र जात हुँदोरहेनछ भन्ने प्रमाणित गरिदिई रानीले । मैले रानीलाई कैद गरेर जतिसुकै माया दर्शाए पनि कालेको एकै इशाराले काम गरिछाड्यो । बुझ्नेलाई इशारा नै काफी हुँदोरहेछ । कतिखेर डेटिङ हुँदो हो र कतिखेर भाग्नेसम्मको सेटिङ मिलेको हो । मैले जति ‘केयर’ गरे पनि पत्तो पाउन सकिनँ । अब त रानी पनि काली कुकुर्नीमा परिणत भइसकेकी छे । मटन खाने उसको मुखले मानव मल पनि चाखिसक्यो होला । उन्नत जातको भनेर ल्याए पनि कुकुर आखिर कुकुर नै हुँदोरहेछ । कुकुर मान्छेभन्दा जाति र मायालाग्दो हुन सक्दोरहेनछ । मान्छेहरु मान्छेलाई भन्दा पनि ज्यादा मह¤व कुकुरलाई दिन्छन् । मैले जस्तै चाटीचाटी माया गर्छन् । अनि संगत र हावापानीका कारण भुस्याहा बनेपछि पछुताउँछन्, मजस्तै । जनावरमा कुकुर बफादार होला । तर, प्रेमका मामलामा कोही पनि इमानदार बन्न सक्दोरहेनछ । मान्छेभन्दा जाती त कुकुर कहिल्यै हुँदोरहेनछ ।

कुकुर पाल्नुपर्छ । कुकुरलाई माया पनि गर्नुपर्छ । तर, चाहिनेभन्दा बढी होइन । यो व्यक्तिको आ–आफ्नै चाहना हो । तर, जतिसुकै चाटे पनि, आफैसँग सुताए पनि, शेयर गरेर कुकुरकै जुठो खाए पनि कुकुर मान्छे बन्दैन र मान्छे जतिसुकै वैगुनी किन नहोस्, कुकुर हुन सक्दैन । त्यसैले, कुकुरप्रेमी महानुभावहरु कुकुर पालौँ तर छाडा नछाडौँ । किनकि, कुकुर उम्दाको किन नहोस् आफ्नो जात जनाइहाल्छ, मेरी रानीजस्तै । छातीमै टाँसेर राखे पनि, चिकेन मन्चुरियन नै खुवाए पनि टोलका भुस्याहा कुकुरसँग मित्रता गाँसेपछि भुस्याहा बनेरै छाड्दोरहेछ । अब भन्नोस्, म कुन मुखले कालेकी दिलवाली अर्थात् रानीलाई गुलाबको फूल लिएर भेट्न जाऊँ ? अहिले कालेले रानीलाई लिएर पुलपारिको नर्कटघारीमा गृहस्थी बसाइरहेको छ रे । मैले माया गरेर रानीको फेसबुक एकाउन्टसमेत खोलिदिएको थिएँ । त्यसमा कतिले ‘लाइक’ ठोके ठोके । अहिले त्यही रानीको कुरा सुन्दा कतिले ‘डिस्लाइक’ गर्लान् ? जोरीपारीको अगाडि मलाई मुख देखाउनै लाज लागेको छ । सबैले भन्छन्, फलानोकी रानीलाई त फलानोको कालेले भगायो रे, त्यही पनि प्रेमदिवसमा !
– – ००० – –
केही वर्षअघिदेखि मैले भ्यालेन्टाइन मनाउन थालेको हुँ । पोहोर साल मैले एउटा गुलाबको फूल नयाँ प्रेमिकालाई दिन्छु भनेर साँचेको थिएँ । घरकै गाईले जबर्जस्ती लम्केर खाइदियो । अनि मतिर हेरेर बाइँ… भनेर हाँनुलाजस्तो ग¥यो । उसले ‘रिजेक्ट’ गरेर बाइँ… गरेको होला भनेर कस्तो नमज्जा लागेको थियो । मोर्डन जमानामा नयाँनयाँ भर्सनहरु अपडेट भइसकेका बेला सधैँ एउटैसँग भ्यालेन्टाइन वीस गर्ने कुरा आउँदोरहेनछ । रानीलाई ठूलो कष्टले खरिद गरेरै ल्याएको थिएँ । तर, धनले कहाँ माया मिल्दोेरहेछ र ? किनेर आफ्नो हुने भए, कति अरबपतिहरुले पैसाले माया खरिद गर्थे होलान् । यो वर्षको भ्यालेन्टाइन गइहाल्यो । अर्को वर्ष अवश्य ‘सम वान् स्पेसल’सँग भ्यालेन्टाइन्स् मनाउने संकल्प गरेको छु । यसपटकचाहिँ रानीकै स्मृतिमा रातो गुलाब समर्पण गर्दछु– ‘ह्याप्पी भ्यालेन्टाइन्स् ‘कु’–रानी…।’ (केशव भट्टराईको फेसबुक वालबाट)

तपाईको प्रतिक्रिया