

हो यो शीर्षक देख्ने बित्तिकै तपाईंले अनुमान अवश्य लगाउनु भयो होला यो हाम्रै देशमा हो भनेर । हाम्रोमा कसैलाई भन्नै पर्दैन कि कस्ताकस्ता ठाँउमा पनि भष्टाचार हुन्छ । पछिल्लो समय विश्व नै कोरोना भाइरससँग लडिरहँदा हाम्रो देशमा भने यही बेला करोडौँ कुम्ल्याउने सेटिङ्ग भयो ।
भाइरस रोकथाम अनि उपचारको लागि चीनबाट खरिदका लागि अढाइ महिनाअघि नै बढेको प्रक्रिया रद्द गरी स्वास्थ्य मन्त्रालयले विवादास्पद तरिकाले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनल प्रालिलाई महँगोमा सामग्री किन्ने गरी सम्झौता गर्यो । अन्त्यमा उक्त सामानहरु गुणस्तरहीन तथा धेरै महँगो भएको व्यापक विरोध आएपछि सामान ल्याउने कार्य स्थगन गर्न पर्यो । यो कम्पनी मेडिकल सामग्री आपूर्ति गर्नेसम्बन्धी कम्पनी नै थिएन । तर, उक्त कम्पनीलाई सत्ता र राजनीतिक पहुँचको आधारमा कमिसन कुम्ल्याउन बिना प्रतिस्प्रधा ठेक्का दिइयो ।
चीनले सहयोगमा दिने भनेको स्वास्थ्य सामग्री बेवास्ता गरेर बिनाप्रतिस्प्रधा सामान ल्याउनु ठूलो भष्टाचार हो । यस प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुन जरुरी छ। यस काण्डमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका मन्त्रीहरु व्यक्तिहरू मुछिएको प्रष्ट छ ।
आदिकवि भानुभक्तले घाँसीको प्रेरणाबाट नेपाली साहित्यलाई उकास्न महत्त्वपूर्ण भूमिका खेलेका पढेका थियौँ। अहिलेका भानुभक्तले भने आफ्ना सहकर्मी हेप्नी उर्फ गोकुल बास्तोलाको प्रेरणाबाट कोरोना लागेको बेला यही हो मौका भनेर कुम्लाउन लागेका होलान् । हदै भए पूर्वहेप्नी मन्त्रीको जस्तै राजीनामा दिए भैहाल्यो। कानुनमन्त्री हुँदा हुँदै त्यहाँ कुम्ल्याउने ठाउँ कम देखेर होला, हेर्दा जहिले पनि बिरामीजस्तै देखिए पनि स्वास्थ्यमन्त्री भएका । एकैचोटि ठूलो गाँस निल्न खोजेपछि यस्तै हो भानुभक्तजी । त्यस्तै, प्रधानमन्त्रीका उत्तराधिकारी ठान्ने ईश्वर कामरेडको योग्यता पनि भावी प्रधानमन्त्री बन्न यो कोरोना काण्डले अवश्य बाधा पुग्छ होला ।
हाम्रा देशका राजनीतिक पार्टीहरु “भाग पाए चुपचाप, नपाए विरोध” यो सबैले बुझेकै कुरा हो । नेताहरुको के कुरा ? कार्यकर्ताहरुको पनि आर्थिक हैसियत हेर्ने हो भने केही वर्षअघि पायल चप्पल पड्काएर हिँड्नेहरु अहिले महल, गाडी, बैंक व्यालेन्स…. । पूर्व पञ्चहरुले खाएर पचाए, मधेसवादीहरूअघाइएन भन्दैछन्, कांग्रेस खाएर डकार्दै छ, नेकपाले बुजो हाल्दैछन्। खाने मामलामा कोही कमी छैनन् । जनतालाई पनि गाह्रो छ, राम्रोलाई छान्नै पाउँदैनन् । चुनावमा नराम्रामध्ये छान्नुपर्छ।
अनि भष्टाचार छानबिनमा यिनै दलले सिफारिस गरेका मान्छेहरु हुन्छन् । अनि कस्लाई कारबाही गर्ने ? तलका पहुँच नभएकालाई फाट्टफुट्ट कारबाही गरेजस्तो गर्छन् । जसरी भर्याङ्ग सफा गर्न, बढार्न माथिबाट सुरु गर्नुपर्छ, भष्ट्राचार पनि त्यस्तै हो । माथिल्लो तहमा भएकालाई पहिला कारबाही भएमात्र भष्टाचार रोकिन्छ । हाम्रा प्रधानमन्त्रीले सधैँ भन्नुहुन्छ, म भष्टाचार गर्दिन र हुन पनि दिन्न । भनेरमात्र भएन प्रधानमन्त्रीज्यू व्यवहारमा लागू पनि गर्नुपर्यो । पछिल्लो समय प्रधानमन्त्री आफ्नै नजिकका मान्छेबाट असन्तुष्ट भन्ने समाचार पढ्न पाइयो । सायद त्यसैले होला विवादित बनेको कोरोना उपचार एवं रोकथाम लागि भनेर चीनबाट ल्याउन लागिएको स्वास्थ्य सामग्री तपाईंकै निर्देशनमा रोकिएको रे ।
रोकेरमात्र भएन उनीहरु माथि छानबिन पनि हुनपर्यो । र, अर्को कुरो फसाउने आफ्नैले हो प्रधानमन्त्रीज्यू, तपाईंका नजिकका विष्णु पौडेल जग्गाकाण्ड, पूर्व हेप्नी मन्त्री कमिशन डिल गरेको अडियोकाण्ड, अहिलेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपप्रधानमन्त्री ईश्वर पोख्रेल कोरोना काण्ड यस्तैयस्तै। यस्तो बेलामा पनि कुम्ल्याउन खोज्नेलाई कोरोना लागोस् भनेर सराप्न मन थियो, तर भष्टचार नगर्नेलाई पनि कोरोना सार्ने हो कि भन्ने डर ! प्रधानमत्रीले भन्ने गरेका अर्को कुरा स्मरण गराउन चाहेँ । मेरो जिन्दगी भनेको फाउको (थप) जिन्दगी हो रे । हो एकपटक त सबै मर्नैपर्छ । तपाईंले त फेरि पनि थप जिन्दगी पाउनु भएको छ। केही गर्नुस् । नत्र तपाईंको स्वर्गारोहणमा पनि यहाँ कात्रो किन्दा पनि भष्टाचार हुनेछ। जनताहरु भष्टाचार भयो भनेर कुर्लेर विरोध गर्नेछन् । अनि उही परम्परा छानबिन समिति गठन अनि स्यामसुम !
(लेखक नेपाल पत्रकार महासंघ, जापानका संस्थापक एवं वर्तमान सल्लाहकार हुन्।)