-किशोर तिवारी

अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीले विश्व नै आक्रान्त भएको छ । यस महामारीले संसारकै जनजीवन ठप्प हुनुका साथै यसको प्रभावले चौतर्फी क्षेत्रमा डामाडोलको स्थिति सिर्जना भएको छ । एउटा व्यक्तिदेखि परिवार, टोल, समाज र विश्वजगतमै विविध समस्या निम्तिएको छ । त्यसमा पनि दैनिक ज्यालादारी गरेर बिहान-बेलुकीको गर्जो टार्ने सीमान्तकृत, सुकुमबासी एवम् अतिविपन्न वर्गको विजोग भएको छ । ज्याला मजदुरी गरी रोजीरोटीको व्यवस्था गर्दै आएका यस्ता वर्ग नै अत्यधिक चपेटामा परेका छन् ।

हुनेखाने र धनाड्य व्यक्तिहरुले छ महिनालाई पुग्नेसम्मको रासनपानी, नूनतेल र ग्यासको जोहो गरेका छन् । तर, अतिविपन्नको चुल्होमा आगो बल्न कठिन भएको छ । तथापि सरकारले लागू गरेको लकडाउनमा कोही पनि भोकभोकै नमरुन् भन्ने उद्देश्यले स्थानीय निकाय तथा विपद् व्यवस्थापन समितिले एकद्वार नीति अवलम्बन गर्दै राहत वितरण गर्दै आएका छन् । तर, यो आफैँमा पर्याप्त छैन । यसमा पनि घाँटीमा मोटामोटा सुनका सिक्री झुण्ड्याउने, ब्रासलेट लगाउने, हजारौँ रुपैयाँको महँगो मोबाइल बोक्ने र पल्सरमा गुड्नेसम्मका मानिसहरु आठ/दसकिलो चामल र एक/दुई किलो दालका लागि लामबद्ध भएको देख्न पाइन्छ ।

यस विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएका अनेकन दृष्टान्तले पनि राहत जसको आवश्यकताका लागि वितरण गर्न खोजिएको हो, जसले लिनुपर्ने हो, त्यसविपरीत छोराछोरी विदेशमा रहेका, घर भाडामा लगाएका, रोजगारी भएका, विभिन्न माध्यमबाट आयस्रोत भएका व्यक्ति पनि लामबद्ध भएको देख्दा लाज पनि लज्जित हुने गरेको छ । अरुले सहयोग लिएको मन थाम्न नसक्ने अनिकालेहरुको यस्तो प्रवृत्ति भनेको लाजको पसारो हो । धनमा धनी भए पनि मनका गरिबहरुको संख्या वृद्धि हुनु पटक्कै सुहाउने विषय होइन ।

मैले यहाँ उल्लेख गर्न खोजेको प्रसङ्ग भनेको राहतको दुरुपयोग नहोस् भन्ने हो । मजदुर तथा विपन्न वर्गको समस्या निराकरणका लागि हुनेखानेहरुले हुँदाखानेका लागि यस्तो विषम परिस्थितिमा केही सहयोग गरौँ भन्ने मनसाय पनि हो । मानिसको जीवन कसैको पनि अजर र अमर छैन । एक दिन नचाहेरै पनि सबैले धर्ती छाड्नै पर्ने हुन्छ ।

स्मरण रहोस्, अहिलेको प्राणघातक कोरोना भाइरसबाट हालसम्म ९५ हजार ७५३ जनाले ज्यान गुमाइसकेका छन् । ४९ हजार १४३ को अवस्था गम्भीर छ । कुल १६ लाख ५ हजार ३७२ जना बिरामी भएकोमा ११ लाख ५२ हजार ६६७ ले उपचार गराइरहेका छन् । ३ लाख ६ हजार ९५२ जना उपचारपश्चात् निको भएका छन् ।

गरिब तथा अविकसित मुलुकभन्दा पनि संसारका सर्वशक्तिमान देशहरु पनि यस भाइरस रोकथामका लागि असफल भइसकेका छन् । बिहीबार अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाएका छन् । एउटा महाशक्तिशाली देशमा समेत यस प्रकोपको सामना गर्न हम्मेहम्मे भएको छ भने हाम्रोजस्तो मुलुकमा महामारी फैलिए कस्तो होला ? त्यसको अनुमान गर्न पनि सकिँदैन । त्यसैले यस्तो विषम परिस्थितिमा आफू बच्ने, आफ्नो परिवार, समुदाय र देशवासीलाई बचाउने हाम्रो पनि मूल अभिभारा हुन आउँछ ।

विश्वव्यापी संकटमा पनि तेरो-मेरो भन्ने, धनसम्पत्तिको लोभलालच देखाउने र राहतका लागि मरिहत्ते गर्ने काम कदापि उचित होइन । विपन्न परिवारमा सिर्जित समस्याको निराकरणका लागि सक्षम वडावासीको सहयोगमा वडा कार्यालयको समन्वयमा प्रत्येक वडामा फुड बैंक स्थापना गर्नु जरुरी छ । सबैको सहयोग, सदभाव र एकताबाट जस्तोसुकै समस्या र संकट समाधान हुनसक्छ । त्यसैले एउटा जिम्मवार नागरिकका हैसियतले आफूले सक्दो सहयोग गरौँ ।

दीन-दुःखी, गरिब तथा विपन्न वर्गको सहयोगमा जुट्ने मनकारी मनहरुप्रति नमन गर्दै धन र मन दुवै भएका सहृदयी व्यक्ति तथा सक्षम वर्गहरुले यथासक्दो सहयोग गरी स्थानीय निकायको समन्वयमा वडा-वडामा फुड बैंक स्थापनाका लागि म सबैसँग अपिल गर्दछु ।

तपाईको प्रतिक्रिया