परिचयः
सन् २०१९ को डिसेम्बर अन्ततिर चीनको उहान प्रान्तवाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड १९)को संक्रमण अहिले विश्वभर फैलिई महामारीको रुप लिएको छ । मानव जगतलाई त्राहिमाम बनाएको यस महामारीवाट बच्ने एकमात्र उपायका रुपमा विश्व स्वास्थ संगठनले स्वीकार गरेको पद्धति लकडाउनको अवस्थामा अहिले प्रायः विश्व नै रहेको छ । यसैअनुरुप नेपाल सरकारले पनि २०७६ चैत्र ११ देखि २०७७ वैैशाख २५ गतेसम्म नेपाल अधिराज्यभर लकडाउनको आदेश जारी गरेको छ । आफ्नो सुरक्षाका खातिर सरकारको आदेशको पालना गर्दै हामी सबै अहिले लकडाउनको अवस्थामा छौँ । घरभित्रै छौ । जहाँ थियौँ, त्यहीँ छौँ ।

नेपाल सरकारले देशका प्रायः सबै सीमा नाकाहरु बन्द गरी नेपाल प्रवेश गर्न रोक लगाएको छ भने अत्यावस्यक र अनुमतिप्राप्त बाहेकका सवारी सञ्चालनमा समेत रोक लगाएको छ । सिनेमा हल सांस्कृतिक केन्द्रहरु रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्यूजियम, स्वीमिंङ पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लब, होटल, लज रेस्टुरा, विद्यालय आदि सबै बन्द गरेको अवस्था छ ।

सरकारी, अर्धसरकारी, गैरसरकारी आदि कार्यालयहरुसमेत बन्द जस्तै नै छन् । यसकारण अहिले घरमा एकान्त जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरु परिवारका बीचमा छन् । बिहानै ८ बजे विद्यालयतर्फ दौडिनुपर्ने, साँझ बिहान गृहकार्यले व्यस्त रहने बालबालिकाहरु घरमै छन् ।

पारिवारिक जिम्मेवारी बहन गर्न रातदिन नभनी दौडने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, केही सञ्चारकर्मी र केही व्यवसायीवाहेक अरु सबै युवा तथा वयस्कहरुसमेत घरमै छन् । विदेशमा रहेका परिवारका सदस्यहरु उतै अल्झेका छन् , कतिसँग त सामाजिक सञ्जालमा कुराकानी हुन्छ भने कतिसँग त त्यो पनि नभएको होला । हप्ता दश दिन होला यस्तो अवस्था भनेर आम सर्वसाधारणले गरेको अनुमान गलत सावित भई एक महिनाभन्दा बढी भीइसकेको लकडाउनको आदेश अझै कति दिन लम्बिने हो भन्ने यकिन नभएकोले आमसर्वसाधारणहरु सबै त्रास र तनावमा रहेका छन् । परिस्थिति कसैको बसमा नभएकोले चिन्तित छन् ।

एकातिर जीवन सुरक्षाको चिन्ता, अर्कोतिर पारिवारिक, आर्थिक, शैक्षिक आदि अवस्थाको चिन्ताले मानिसहरुको स्वाभावमा अस्वाभाविक परिवर्तन हुन सक्छ । जसबाट परिवारमा खुसी र सहिष्णुता नभई असहिष्णुता, एक आपसमा असहयोग आदि हुँदै अपराध (हिंसा)को जन्मसमेत हुन सक्छ । यस्तो अवस्थामा हुन सक्ने पहिलो अपराध घरेलु हिंसा हुन सक्छ । नेपाल प्रहरीको तथ्यांकलाई हेर्ने हो भने पनि लकडाउनको अवधिमा अन्य फौजदारी अपराधमा आएको गिरावटको तुलनामा घरेलु हिंसा, लैङ्गिक हिंसा र करणीसम्बन्धी अपराधमा उल्लेख्य गिरावट आउन सकेको छैन । लकडाउनको अवस्थाले कतिपय हिंसाका घटनाहरु त वाहिर नआएका पनि हुन सक्ने सम्भावना छ ।

घरेलु हिंसा के हो ?

घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ को दफा २ मा “घरेलु हिंसा” भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ र “घरेलु सम्बन्ध” भन्नाले वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध सम्झनु पर्छ र सो शब्दले सँगै बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलाई जनाउँछ भनी परिभाषित गरेको छ । यसका अतिरिक्त घरेलु सम्बन्धमा हुने यातनालाई समेत यसरी परिभाषित गरेको छ । जस्तैः

 “शारीरिक यातना” भन्नाले कुटपिट गर्ने, गैरकानुनी थुनामा राख्ने, शारीरिक चोट पु¥याउने, तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरुप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य सम्झनु पर्छ ।

 “मानसिक यातना” भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, सांस्कृतिक, प्रथा, परम्पराका आधारमा भेदभाव गर्ने, रुप, रंग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य सम्झनु पर्छ र सो शब्दले मानसिक तथा भावनात्मक चोट पुग्न सक्ने अन्य कुनै काम समेतलाई जनाउँछ ।

 “यौनजन्य यातना” भन्नाले यौनजन्य प्रकृतिको दुव्र्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पु¥याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै पनि कार्य सम्झनु पर्छ ।

 “आर्थिक यातना” भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनु पर्छ । र सो शब्दले महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाव दिने वा दाइजो नल्याएको कारणबाट गरिने घृणा, हेला वा तिरस्कार समेतलाई जनाउँछ ।

किन हुन्छ घरेलु हिंसा ?

प्रथमत मानवले मानवलाई मानव नसम्झेका कारण वा अर्को कुनै मानवको अस्तित्व स्वीकार गर्न नसकेका कारण हिंसा हुन जान्छ । त्यसका अतिरिक्त व्यक्तिको शारीरिक, मानशिक अस्वस्थता, परिवारिक, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अवस्था, अशिक्षा र खानपान आदिले समेत हिंसा हुनमा भूमिका खेलेका हुन्छन् । अहिलेको लकडाउनको अकल्पनीय अवस्था, शारीरिक र मानसिक रुपले केही अस्वस्थ रहेको अवस्थामा माथीका कुनै न कुनै कारण सक्रिय हुन सक्छन् र परिवारमा हिंसा हुन सक्छ ।

लकडाउनको अवधिमा घरेलु हिंसा न्यूनीकरण कसरी हुन सक्छ ?

विक्षिप्त मानसिक अवस्था, दुरासययुक्त मन तथा असहिष्णुताका कारणले जन्मने अपराध घरेलु हिंसा हो । तसर्थ पारिवारिक सहिष्णुता, पारिवारिक अनुशासन तथा आचरण र जिम्मेवारीवोध आदिलाई बढावा दिनु आजको अपरिहार्यता हो । तसर्थ :

 यो विषम परिस्थिति हो, यो म एक्लैलाई वा मेरो परिवारलाई मात्र परेको मार होइन, विश्व नै यसबाट पीडामा छ । विगतमा भएका महामारीको निकास निस्किएझैँ गरेर यसबाट पनि हामी मुक्त भइन्छ भन्ने कुरामा विश्वास गरी आफूलाई सन्तुलित र संयमित अवस्थामा राख्नु पर्दछ ।
 घरमा कसैलाई कोरोना संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहबमोजिम गर्नु पर्दछ । रोग सर्न सक्ने सम्भावनालाई मध्यनजर गरी कायम गर्नुपर्ने शारीरिक दुरी र सतर्कता कायम गर्नु पर्दछ नै तर मानसिक दुरी, छिः छिः दुरदुर गर्नु हुँदैन ।
 घरमा रहन, बस्न पाएकोमा खुशी मान्दै परिवारसँग बस्न पाएको अमूल्य अवसरको रुपमा यसलाई प्रयोग गर्नु पर्दछ । परिवारमा सँगै बस्ने, सँगै खाने, सँगै खुलेर कुराकानी गर्ने, एकले अर्कालाई सम्मान गर्ने, माया, आदर गरी रमाइलो वातावरण तयार गर्नु पर्दछ ।
 घरमा हुने कामको जिम्मेवारी विभाजन गर्नु पर्दछ, उमेरअनुसारका काम सवैले गर्ने बानी बसाल्नु पर्दछ । म कसरी खुसी रहन्छुभन्दा पनि मैले कसरी परिवारको अर्को सदस्यलाई खुसी राख्न सक्छु भन्नेमा ध्यान केन्द्रित गर्नु पर्दछ ।
 कोरोना संक्रमण र यसको असरका सम्वन्धमा सामाजिक सञ्जालहरुमा आउने पुष्टि नभएका समाचारका पछाडि नलागी आधिकारीक सूचनाको मात्र जानकारी राख्ने, सरकारद्वारा जारी गरेका निर्देशनहरुको पालना र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट भएका जानकारीहरुलाई अवलम्बन गर्नु पर्दछ । धरै समय सामाजिक सञ्जालमा नरही एकआपसमा सहकार्य गरेर, रचनात्मक क्रियाकलापहरु गरेर समय कटाउनु पर्दछ ।
 आराम, व्यायाम, मनोरञ्जन, अध्ययन आदिका लागि समय तालिका बनाई दैनिक सबै क्षेत्रमा प्रवेश गर्नु पर्दछ र शारीरिक र मानसिक रुपले स्वस्थ रहने प्रयत्न गर्नु पर्दछ । बालबालिकाहरुको समय तालिकामा अभिभावकहरुसमेत समावेश भई उनीहरुलाई केही सिक्ने र खुसी रहने वातावरण तयार गर्नु पर्दछ ।
 लागू तथा मादक पदार्थको सेवन अपराधको पहिलो उत्प्रेरक तत्त्व हो । यस्लाई पूर्णरुपले बर्जित गर्नु स्वस्थ र सुरक्षित पारिवारिक जीवनका लागि अपरिहार्य छ । लकडाउनको समयमा त यसलाई कल्पनासमेत नगरी आगामी सामान्य दिनहरुमा समेत यसबाट मुक्त हुने प्रयत्न गर्नु पर्दछ ।
 परिवारमा रहेका ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बालबालिकालाई केन्द्रविन्दुमा राखेर घरमै रम्ने खालका क्रियाकलापहरु सञ्चालन गर्नु पर्दछ ।
 घरेलु हिंसाले अर्को अपराध (आत्महत्या, हत्या, बलात्कार आदि) जन्माउन सक्छ तसर्थ परिवारमा हिंसा हुने वातावरण हुन दिनु हुँदैन । भएमा उजुरी गर्न पनि हिचकिचाउनु हुँदैन । घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले उजुरी दिन सक्ने व्यवस्था हुँदाहुँदै पनि पीडितले नै उजुृरी गर्न मुख ताकी परिवार वा समाजका अन्य व्यक्तिले वास्ता नगर्ने परिपाटीको अन्त्य हुनु पर्दछ ।
 उजुरी पछि पीडितको सुरक्षामा अझै पनि राज्यले पीडितलाई विश्वास दिलाउन नसकेकोले राज्य, सरकार र कानुनप्रति पीडित विश्वस्त हुने वातावरण निर्माण गर्नु पर्दछ ।

उजुरी गर्ने प्रक्रिया के हो ?

घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सोसम्बन्धी विवरण खुलाई नजिकको प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तहसमक्ष ९० दिनभित्र लिखित वा मौखिक उजुरी दिन सक्ने व्यवस्था छ भने सोझै अदालतमा समेत उजुरी दिन सकिने व्यवस्था रहेको छ । तसर्थ भरसक घरेलु हिंसामुक्त परिवार बनोस्, यदाकदा भई हालेमा पनि उजुरी गर्ने, पीडितले न्याय र पीडकले सजाय पाउने वातावरण बनोस् ।

(लेखक सेवा निवृत्त प्रहरी अधिकृत तथा लाइसियम इन्टरनेसनल मोडल स्कुल रत्ननगरका प्रबन्ध निर्देशक हुन् )

तपाईको प्रतिक्रिया