–प्रमोद शर्मा लामिछाने
अहिले मानवीय पिपत्ति, कोभिड १९ बाट विश्व आक्रान्त छ। तुरुन्तै यसको निराकरणको उपाय पनि देखिएको अवस्था छैन । विकसित देशहरु आफ्ना नागरिक विदेशमा समस्यामा नपरुन् भन्ने मनसायले मानवीय सदाशयता राख्दै स्वदेश फिर्ता हुन चाहने आफ्ना सबै नागरिकहरुलाई कतिपय देशहरुले फिर्ता गरिसकेको र कतिपय देशहरुले  गर्दै आइरहेका छन् । यसको अर्थ, सामान्य रुपमा पनि यो परिस्थिति छिट्टै समाधान हुन गार्‍हो छ। भ्याक्सिन पत्ता लगाएर समस्याको उपचार हुनसक्ने अवस्था आयो भने पनि औषधिको सर्वसुलभता, राष्ट्रको अर्थतन्त्र, रोजगारीको स्थिति आदि विषयहरु तत्काल सामान्य अवस्थामा आउन केही समय लाग्न सक्छ भन्ने बुझ्नुपर्ने हुन्छ ।

हाम्रो देश नेपाल अपार जलश्रोत, प्राकृतिक सम्पदा र सौन्दर्यता आदि  धेरै कुराले धनि हुँदाहुँदै पनि आर्थिकरुपले हामी विपन्न छौँ । लामो समयदेखि देशको बागडोर सम्हालिरहेका नेतृत्व तह, नीतिनिर्माण तहमा बस्नेहरु, कार्ययोजना बनाउने, गर्ने, गराउनेहरुबाट उपयुक्त र सही निर्णय तथा कार्यान्वयन गर्न सक्ने क्षमता नभएर हो वा नजानेर हो हाम्रो देशले आर्थिक उन्नतिको बाटो समाउन सकेन । हामी सधैँ गरिबीको र विपन्नताको पर्यायवाची भैरह्यौँ । वैदेशिक रोजगारीमा रहने तमाम हामीहरु त झनै पीडित छौँ नै । अन्यदेशको हामीप्रतिको धारणा, हेर्ने दृष्टिकोण, देश हेरेर गरिने मूल्यांकन, देश हेरेरै निर्धारण गरिने हाम्रो सुविधा र तलबमान तथा देश हेरेरै गरिने हाम्रो विज्ञता र कार्य दक्षताको मूल्यांकन ले हामीलाई झनै दुखित् तुल्याउँछ ।

यी यावत कुराको बाबजुद आफ्नो परिवारको गाँस, बास र कपासको लागि हामी खाडीलगायत विश्वका धेरै देशहरुमा सस्तो श्रम बेचिरहेका छौँ । देशमा रोजगारीको अन्य कुनै उपाय नभएर नै हाम्रो पौरखी युवा शक्ति विदेशिएका हो । स्वदेशको विकास गर्नुपर्ने पौरखी हातले विदेशको विकाश गरिरहेको छ । यही परिवेश परिस्थितिमा जेनतेन चलिरहेको यो हाम्रो रोजिरोटी पनि अब अधिकांशले गुमाउँदै छौँ यही कोरोना कहरको कारणले । कतिको ज्यानै गुमिसक्यो, कति अस्पतालको बेडमा छट्पटाइ रहनुभएको छ ।

रोजगारी गुमाउनुभएका, असुरक्षित अवस्थामा रहनुभएका, काम बन्द भएर खानबस्नको पनि अभावमा रहनु भएका र समस्यामा पर्नु भएका नेपालीहरु दिनानुदिन बढ्दै हुनुहुन्छ । निकट भविष्यमा अरु धेरैले रोजगारीबाट हात धुनुपर्ने अवस्था देखिएको छ, नेपाल सरकारले पीडामा हुनुभएका, तत्कालै गाँस, बास र कपासको समस्यामा पर्नु भएका नेपालीहरुलाई सकेसम्म छिट्टै स्वदेश फिर्तीको पहल गर्नुपर्ने देखिन्छ । यो प्रक्रिया यदि केही दिन लम्बियो भने झन् विकराल परिस्थिति आउन सक्छ । हामीजस्तै वैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकहरुलाई भारत, पाकिस्तान बंगलादेश, फिलिपिन्स, श्रीलंकाजस्ता राष्ट्रहरुले दुःखमा भएका र रोजगारी खोसिएका नागरिकलाई प्राथमिकताको आधारमा फिर्ता लैजान सुरु गरिसकेका छन् ।

यहाँको अवस्था अब जति ढिला गर्यो त्यति रोजगारदाता कम्पनीहरु बन्द हुँदैछन्, दैनिकरुपमा पीडितको संख्या बढ्दै जाने छ । अहिलेकै अवस्थामा छिटोभन्दा छिटो स्वदेश फिर्ता लैजाने व्यवस्था गर्न सके प्रायः धेरै रोजगारदाताले हवाई टिकट, तलब तथा उपदान (सर्भिस मनि) दिन सक्छन् । स्वदेश फिर्ता गर्नुपर्ने हवाई टिकटलगायतको आर्थिक भार नेपाल सरकारलाई तत्काल पर्दैन। तर, यदि कुरै कुरामा अल्मलिएर काम सुरु नगर्ने हो भने कम्पनी टाट पल्टने, न हवाई टिकट, न तलब, न उपदान पाउने अवस्था आउँदैन भन्न सकिन्न ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा तयार पारिएको रिपोर्टअनुसार विभिन्न समस्यामा परी तत्काल फर्कनुपर्ने एक लाख सत्ताइस हजार साथै रोजगारी गुमाएर फर्कन सक्ने दुई लाख असी हजार गरी जम्मा चार लाख सात हजार नेपालीहरु विलम्ब नगरी स्वदेश फर्काउन पहल गर्नुपर्ने अवस्था छ ।

नेपालले अझै कसरी क्वारेन्टाइनको व्यवस्था गर्न सकिन्छ भनेर छलफल र गृहकार्य गर्दैछ भन्ने समाचारमात्रै सुनिएको छ। आजको मितिसम्म कुनै ठोस योजना बनाएको, भए गरेको देखिँदैन । यो विषम परिस्थितिमा नेपालि सेना र सशस्त्र प्रहरीलाई परिचालित गरी सामुदायिक तथा सरकारी स्कुल र निजी स्कुलहरुमा क्वारेन्टाइनमा बस्नको लागि आधारभूत व्यवस्था गर्ने, साथै आफ्नै खर्चले व्यक्तिगत तवरमा जान चाहने कोही व्यावसायिक व्यक्तिहरु हुनुहुन्छ भने आफ्नै व्यक्तिगत खर्चमा होटलको व्इवस्था गर्ने गरी तयारी गर्ने व्यवस्था मिलाउने । एउटा प्लेनको सरदर यात्रु संख्या २५० का दरले दैनिक ४ ओटा प्लेनमार्फत एक हजार यात्रुहरुलाई व्यवस्था गर्ने गरि १५ ओटा क्वारेन्टाइन शिविर बनाउने, दैनिक एक हजारको दरले यात्रु विदेशबाट लैजादै गर्दा १५ दिनमा १५ हजार यात्रु नेपाल पुगिसक्छन् ।

१४ औँ दिनमा सुरुमा क्वारेन्टाइनमा बसेकाहरु घर फिर्ती हुन्छन्, एकदिन उनीहरु बसेको ठाउँलाई सेनिटाइज गर्ने र फेरि नयाँलाई व्यवस्थापन गर्ने हो भनेमात्रै पन्ध्र हजार क्षमताको क्वारेन्टाइनमा रहने बासस्थानले हरेक दिन १००० जनाको आगमनलाई व्यवस्था गर्न सक्छ । एक महिनामा तीस हजार छ महिनामा एकलाख असी हजार नेपालीहरुलाई घर फिर्तीमा सहजीकरण गर्न सकिन्छ । यो व्यस्थापन गर्न कुनै समस्या पर्छजस्तो पनि लाग्दैन, यदि यो क्षमतालाई ३० हजारको लागि वृद्धि गर्न सकियो भने ।

दैनिक दुई हजार नेपालीलाई व्यवस्थापन गर्न सकियो भने छ महिनामा नै तीनलाख साठी हजारलाई स्वदेश फिर्ता गरी व्यवस्थापन गर्न सकिन्छ झन्डै चारदेखि पाँच लाखको हाराहारीमा नेपालीहरु फर्कने आँकलन गरिएको छ । यसरी सहजै यो समस्याको समाधान हुनसक्छ भन्ने लाग्दछ । नेपाली सेनाको र सशस्त्र प्रहरीको बलले अनुशासित रुपले यो व्यवस्था गर्न सक्छ । सरकारले नेपाली सेनालाई र सशस्त्र प्रहरीलाई यो विषम परिस्थितिमा विपदमा परेका हामी नेपालीलाई स्वदेश फिर्तीको लागि व्यवस्थापन गर्ने अभिभारा सुम्पियोस् । निजामति कर्मचारीलगायत अन्यबाट यो सम्भव छैन । अन्यत्र नसोची अनावश्यक बहस तथा छलफलमा समय खर्च नगरी यथाशक्य छिटो सरकारले जिम्मा दिने काम गरोस् । हामी तमाम् विदेशमा रहेका पीडितहरु छिट्टै स्वदेश फर्कन पाऊँ ।

तपाईको प्रतिक्रिया