पछिल्लो समय सूचना तथा प्रविधिको विकाससंँगै सञ्चारमाध्यमले पनि ठूलै फड्को मारेको छ । छापा पत्रकारिता, रेडियो, टेलिभिजनसंँगै आज पत्रकारिता अनलाइन मल्टिमिडिया डिजिटल प्रविधिसम्म फराकिलो हुन पुगेको छ ।

पछिल्लो दशकमा नेपालमा सबैभन्दा विकास र फड्को मारेको क्षेत्र हो सूचना र प्रविधि क्षेत्र । यो सँगको गहिरो र प्रत्यक्ष नाता सञ्चारमाध्यममा छ । यसले प्रतिस्पर्धासँगै यसको क्षेत्र र विज्ञापनको दायरा पनि फराकिलो बनाइदिएको छ । जसका कारण अधिकांश सञ्चारकर्मीको लागि व्यावसायिक र पेशागत सुरक्षा दिन सफल भइसकेको सर्वविदितै छ ।

तर, केही महिनादेखि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्व जगतलाई निकै ठूलो मानवीय क्षति पुर्‍याएको छ नै । त्यसमाथि झन त्राससँगै आर्थिक क्षेत्रमा ठूलो पहिरो गएको छ । विश्व अर्थतन्त्र यसले तहसनहस पारिदिएको छ । यसले नेपालको अर्थतन्त्रलाई कहांँसम्म पुर्‍याउने हो अनुमान गर्न सकिँदैन । आर्थिक क्षेत्र ध्वस्त र ठप्प भइरहेको बेला यसको गम्भीर असर आमसञ्चार क्षेत्रमा समेत परेको छ । समग्र आर्थिक क्षेत्रभित्र नै सञ्चार क्षेत्र आश्रित छ ।

यतिबेला अधिकांश स्थानीय तथा राष्ट्रिय छापामाध्यमहरु पनि बन्दजस्तै अवस्थामा छन् । विज्ञापनको भरमा चल्ने मिडियाहरु झण्डै दुई महिनादेखि विज्ञापनको संकटमा रहेका छन् । विगत १० वर्षदेखि चितवनमा रहेर छापा पत्रकारिता, विज्ञापन एजेन्सी र इभेन्ट मेनेज्मेन्टमा दख्खल राख्दै आएका सञ्चार उद्यमी हरि कार्की ‘लक्की’सँग कोरोना कहर र लकडाउनले सञ्चार क्षेत्रमा गरेको नोक्सानी र भविष्यमा पर्ने असरका बारेमा नेपालीको आवाज डटकमले गरेको कुराकानी :

१) कोरोना महामारी विश्वव्यापी रुपमा फैलिरहंँदा यसले सञ्चार क्षेत्रमा कस्तो असर परेको छ ?

-सदियौँपछि एक्कासि कोराना महामारीका कारण जारी लकडाउनको कारण विश्व अर्थतन्त्र नै ध्वस्त रहेको बेला नेपालको अर्थतन्त्र पनि अछूतो नरहने भन्ने कुरै छैन । विशेषगरी सञ्चारमाध्यम, मिडिया पनि एउटा उद्योगको रुपमा विकसित भइरहेको परिप्रेक्ष्यमा यसले सञ्चार क्षेत्रमा गम्भीर असर परेको छ । एकातिर सञ्चार क्षेत्रलाई नियमित गर्नुपर्ने चुनौती छ भने अर्कोतिर विज्ञापन नहुँदा दोहोरो मारमा परेको छ । ठूला सञ्चारमाध्यमलाई समेत अहिले नियमित कार्य चलाउन धौ धौ परिरहेको बेला साना सञ्चारमाध्यमहरु यही स्थिति रहने हो भने पलायन हुने अवस्था निश्चित छ ।

२) आर्थिक क्षेत्र र सञ्चारमाध्यमको अन्तरसम्बन्ध कस्तो हुन्छ ?

-बिनालगानी आखिर कुनै पनि व्यापार व्यवसाय र उद्योगधन्दा चल्दैनन् । त्यसैले सञ्चारमाध्यम पनि एउटा सेवामूलक व्यवसाय हो । सरकारी मिडियाहरु त सरकारको बजेट र लगानीले चल्न सक्लान् तर निजी सञ्चारमाध्यम भने उद्योग, व्यवसायको भरमा विज्ञापनबाटै नै चल्ने हो । सरकारले लोककल्याणकारी विज्ञापनको लागि बजेट छुट्याए पनि त्यो पर्याप्त पनि छैन र सबैको पहुंँचमा पनि छैन । जसका कारण अहिले चलिरहेका उद्योग, व्यवसाय एवं विज्ञापनदाता पनि अन्यौलमा छन् । लकडाउनको समय कति लम्बिने हो र यसको असर कहिलेसम्म पर्छ भन्ने अवस्था छैन । जबसम्म नेपालको आर्थिक क्षेत्र तग्रिँदैन तबसम्म सञ्चार क्षेत्र पनि थलिने निश्चित छ । त्यसैले आर्थिक क्षेत्र र सञ्चार माध्यमबीचको सम्बन्ध नङ र मासुको जस्तै हो ।

३) लकडाउनका कारण अहिलेको सञ्चारमाध्यम कुन अवस्थामा छन् ?

-अहिलेका सबै सञ्चारमाध्यमहरु पर्ख र हेरको अवस्थामा छन् । कहिले महामारी मत्थर होला र अवस्था सामान्य होला भन्ने पर्खाइमा छन् । तर, जति लकडाउन थपिँदै गएको छ उति सञ्चारमाध्यम थलिँदै गएका छन् । कतिपय सञ्चारमाध्यमले घरभाडा बुझाउनसमेत सकेका छैनन्, विज्ञापनमा दिनहुंँ कटौती भइरहेको छ । नयांँ विज्ञापन आउने कुनै आधार र आशा छैन । सञ्चारकर्मीको तलब रोकिएको छ । यो दयनीय अवस्था हो । यस्तो अवस्था सञ्चारमाध्यमले सशस्त्र द्वन्द्व र महाभूकम्पको बेला पनि बेहोरेका थिएनन्। जसका कारण यसले गर्दा विज्ञापन एजेन्सी, सञ्चारमाध्यम र सञ्चारकर्मी सबैलाई उठ्न नसकिने गरी थला पारेको छ । सञ्चारमाध्यम धराशायी बन्ने अवस्थामा पुगेका छन् ।

४) तपाईंको विचारमा लकडाउनलाई कसरी व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ ?

-नेपाल एउटा विकासशील देश र सँगै गरिब मुलुकको दर्जामा पर्छ । यसको आफ्नो आन्तरिक श्रोत खासै छैन । नेपालको अर्थतन्त्र रेमिट्यान्सको भरमा अडिएको छ । निर्यात बढ्न गई व्यापार घाटा बढ्दो छ । आशाको रुपमा रहेको पर्यटन क्षेत्र पनि धराशायी र ध्वस्त छ । केही निमार्णाधीनरुपमा रहेको जलविद्युतका श्रोतहरु पनि पूरा हुन सकेका छैनन् । विश्वमै बेरोजगारी दिनानुदिन बढिरहेका बेला झण्डै देश बाहिर रहेका ८० लाख नेपालीको रोजीरोटी पनि संकट पर्ने देखिएको छ । उनीहरुले अब केही समय रेमिट्यान्स पनि पठाउन सक्दैनन । त्यहाँ रहेका अधिकांश कामदार पनि करिब १५ लाखभन्दा बढी नेपाल फर्किने तरखरमा छन् । यस्तो बेला सरकारलाई दोहोरो भार र मार पर्ने देखिन्छ । उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न तत्काल सम्भव छैन । लगानी गर्ने कुनै क्षेत्र सम्भव छैन विकल्पको रुपमा रहेको कृषि क्षेत्र हो तर यसमा पनि सरकारको कुनै अल्पकालीन मध्यकालीन र दीर्घकालिन योजना नभएको कारण यसको असर वर्षौंसम्म पर्ने देखेको छु ।

५) अब सञ्चारमाध्यमको भविष्य कस्तो देख्नु भएको छ ?

-सञ्चारमाध्यम एउटा जनतालाई सुसूचित गर्ने भरपर्दो माध्यम त हो । तर, सूचना प्रविधि र इन्टरनेट स्मार्ट डिभाइसका कारण सबै पाठक, दर्शकले अनलाइन माध्यम र अनलाइन टेलिभिजन र सोसयल मिडियालाई रुचाएको र स्वीकारेको अवस्था हो । तर, पछिल्लो समय यसको अस्वस्थ प्रतिस्पर्धा र मिडिया पनि व्यावसायिक नबन्दा निष्पक्ष, तटस्थ, समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम चेपुवामा परेका छन् । अर्को कुरा, मानिसको जीवनशैलीमा पनि व्यापक परिवर्तन आएको छ । सहरकेन्द्रित पाठक तथा दर्शकहरु अनलाइन र टेलिभिजनतर्फ आकर्षित भएका छन् भने गाउँमा रेडियोकै प्रभाव बढी छ । पछिल्लो समय पत्रपत्रिका पढ्ने पाठकहरु घटेको अनुभूति गरेको छु । यो सबै सामाजिक सञ्जालको बढ्दो पहुँच र प्रभावले हुनसक्छ । अहिले सामाजिक सञ्जालमार्फत् नै पाठकस्रोताहरुले समाचार तथा मनोरञ्जन प्राप्त गर्ने भएकाले अनलाइनसँग सम्बन्धित सञ्चारमाध्यम ने दीगो र स्थायी हुने देखेको छु ।

यसलाई सही व्यवस्थापन गर्न राज्यले यसको स्तर निर्धारण गर्ने, सबै मिडियालाई दर्ताको दायरामा ल्याउने र असंख्य खुलिरहेका मिडियालाई नियन्त्रण, नियमन गर्ने संयन्त्र तयार पार्नुपर्ने देखिन्छ । असंख्यरुपमा खुल्दै जाने मिडियाले न त सञ्चारमाध्यमलाई न त जनतालाई नत समाज अनि राष्ट्रलाई नै फाइदा पुग्छ । त्यसैले अवको बाटो भनेको व्यावसायिक पत्रकारितातर्फ आम सरोकारवाला केन्द्रित हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया