-निर्देशन त्रिपाठी
यतिबेला कोरोना भाइरस कोभिड १९ ले गर्दा विश्व निकै आक्रान्त भैरहेको अवस्था छ । त्यसमध्ये नेपाल पनि अछूतो रहेन । यतिबेला लाखौँको रोजगार प्रभावित बनिरहेको अवस्था छ भने लाखौँ व्यक्तिको रोजीरोटी गुमेको अवस्था छ । यसबाट नेपाल पनि अछूतो रहेन । लाखौँ युवा यतिबेला वैदेशिक रोजगारीमा रहेका छन् ती सबै युवाहरु नेपाल फर्कने अवस्थामा पुगेका छन् । सरकारले यस विषयमा ध्यान दिन जरुरी छ ।

अनि सबै युवाहरुको ज्ञान सीप दक्षताअनुसार रोजगारी दिन सक्नु आजको आवश्यकता भएको छ । आज नेपालको आर्थिक विकाशको एउटा खम्बा भनेको उद्यमशीलता नै हो । आजको २१औँ शताव्दीमा पनि अब हरेक युवा उद्यमी बन्नु जरुरी छ । र, सरकारले पनि सक्दो सहयोग गर्नुपर्दछ । अर्काको जागिर खानेभन्दा पनि आफूले केही गर्ने मानसिकता अब नेपाली युवामा हुनुपर्दछ । आफ्नो ज्ञान, सीप, दक्षता जोश जाँगर आफ्नै माटोमा खन्याउनु पर्दछ। उद्यमी बन्न चाहने युवाले हरेक कुरा ध्यान दिएर अगाडि बढ्नुपर्ने देखिन्छ । यसमा प्रदेश सरकार र स्थानीय सरकारले पनि विशेष ध्यानकेन्द्रित गर्न जरुरी छ ।

आज विश्व अर्थतन्त्र ध्वस्त भएको बेला र नेपालको पनि आर्थिक अवस्था धराशायी बनेको अवस्थामा अब यही बिन्दुबाट सुरु गरियो भने केही न केही परिणाम देखिन्छ । यस कार्यक्रमको लागि विभिन्न निकायको पनि कामकारबाही जरुरी देखिन्छ चाहे राष्ट्रिय युवा परिषद् होस् या युवा मन्त्रालय नै किन नहोस् । अब यस विषयमा सबैले ध्यान दिनुपर्दछ र मैले यति वर्ष युद्ध गरेँ मैले यो पद पाउनुपर्छ मैले यति वर्ष यो गरेँ त्यसैले मैले यो पद लिनुपर्छ भन्ने मानसिकताबाट अगाडि बढियो भने देश पुनः पुरानै शैलीमा फर्कन्छ र कहिल्यै अगाडि बढ्न सक्दैन । अब युवाको सीप ज्ञान दक्षताको आधारमा अगाडि बढाइनुपर्ने बेला आएको छ ।

१) पुँजीको व्यवस्थापन : हरेक युवालाई व्यवसाय सुरु गर्दा सिड मनी अर्थात् बीउ पुँजीको व्यवस्था गरिनुपर्दछ । त्यो पनि नसके सरल ऋणको व्यवस्था गर्न सकिन्छ । हाम्रो घरगाउँमा चलेको चलन थियो, बाख्री दिने त्यसबाट जन्मेको एउटा पाठा वा पाठीचाहिँ फिर्ता दिनुपर्ने । त्यसअनुसार कार्यक्रम ल्याइनुपर्दछ । अनुदानको हकमा कि सीधै प्रत्यक्ष सम्बन्धित निकायमा पुग्नु पर्दछ । जस्तै, सामाजिक सुरक्षाभत्ता जस्तै हैन भने अनुदान पूरै बन्द गरिनुपर्दछ । भन्नुको तात्पर्य व्यवसाय गरिसकेपछि उसको नाफाबाट कमाएको पहिलाको पुँजी फिर्ता गरिनुपर्दछ । आजको नेपालको उद्यमशीलताको समस्या भनेको पुजीको हैन सोचको कमी हो । अब हरेक स्थानीय तहले कोष तयार गरी हरेक वडामा १०/२० जनालाई पुग्ने गरी उद्यम गर्ने व्इक्तिलाई पुँजीको व्इवस्थापन गर्नुपर्दछ । सोचको कमी नभए स्रोत आफैँ आउँछ ।

२) आइडिया बैंक स्थापना : अब सरकारले युवा उद्यमशीलताको लागि आइडिया बैंकको स्थापना गर्नुपर्दछ र त्यसलाई व्इवहारिकरुपमा लागू गर्नुपर्दछ । देशको हरेक कुना र काप्चामा रहेका नयाँ सोच (इनोभेसन)लाई ल्याई बैंक स्थापना गरी त्यसलाई आवश्यकताअनुसार पुँजी र जनशक्ति स्थापना गरिनु पर्दछ ।

३) व्यवसाय र जग्गाको वर्गीकरण : उद्यमशीलताको लागि व्यवसायको र ठाउँको वर्गीकरण हुन जरुरी छ । जस्तै, उद्योगमा सम्भावना भएका ठाउँमा उद्योग सञ्चालन र स्थापना गरिनुपर्दछ । जस्तै, हेटौँडालाई औद्योगिक क्षेत्र बनाइएको छ । बागमती प्रदेशमा फलाम खानीको सम्भावना छ । सिमेन्ट उत्पादनको लागि चुनढुङ्गा पनि यहीँ छ । जडीबुटी जलस्रोत, गिट्टी बालुवा पनि यहीँ नै छ । काभ्रे, धादिङ र मकवानपुरको तरकारी बाहिर पठाउन सकिन्छ । सिन्धुपाल्चोक, चितवन, काभ्रे र पोखरा पर्यटकीय हिसाबले अगाडि छन् । यसलाई कानुन नै बनाएर दूरगामी प्रभाव पार्ने काम गरिनु पर्दछ ।

४) जनशक्ति निर्माण : उद्यमशीलतालाई अगाडि बढाउनुको निम्ति दक्ष जनशक्ति आवश्यक पर्दछ । हामीसँग विभिन्न कलेज विश्वविद्यालयमा लाखौँ विद्यार्थी उत्पादन गर्छौं र विदेश पलायन गर्छौं । अब हरेकलाई स्वदेशमै स्वालम्बनमा लगाइनुपर्दछ । उद्यमी र सीप विकासको ढाँचा हेर्दा हाम्रा अभ्यासहरु अझै पनि पुरानै छन् । हामीसँग विभिन्न खानी, जडीबुटी पर्याप्त छ त्यसलाई रिफाइन गरेर निर्यात गर्ने जनशक्तिको भने हामीसँग अभाव छ । अब प्राविधिक उत्पादन गरेर आफनै देशमा लगाई आर्थिक उपजको निम्ति खटाइनु पर्दछ । अब बिदेशबाट फर्किएका युवाको सीप, ज्ञान र दक्षताको वर्गीकरण गरी उनीहरुलाइ यहीँ व्यवसायमा लगाइनु पर्दछ । हामीसँग हरेक वैदेशिक युवाको सीप तालिमको आधिकारिक सूचना र प्रणाली अझै विकाश गरेनौँ । अब यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ ।

५) प्रशासनिक सुधार : जब उद्यमशीलताको लागि युवा प्रशासनभित्र प्रवेश गर्छ त्यसमा निवेदन प्रक्रियादेखि नै उ ढिलासुस्तीको सिकार बन्न पसग्छ । ऊ त्यसबेलादेखि नै कमिसनको सिकार बनेको हुन्छ । उसले आफूसँग भएको घरखेत, झिटीझाम्टा सबै बेच्नुपर्ने हुन्छ । जबसम्म्न यस प्रक्रिया सुध्रिँदैन तबसम्म युवा उद्यमशीलता विकाश सम्भव छैन । उसले पाउनुपर्ने सेवासुविधा आवश्यक कागजात प्रक्रियामा ढिलासुस्ती हुने काम नगरिदिने र मानसिक पीडा उसमा पर्दछ । प्रशासनिक सुधारको खाचो धेरै छ । त्यस कारण यो विषयमा प्रशासनिक तहलाई जिम्मेवार बनाउन गम्भीर हुन जरुरी छ ।

६) अनुसन्धान र विकास : आजको देशको मुख्य आवश्यकता भनेकै खोज र अनुसन्धान हो । जबसम्म्न रिसर्च र इनोभेसनमा लगानी गरिँदैन तबसम्म्न उद्यमशीलता कठिन छ । हामीकहाँ ठूलो समस्या भनेकै कुनै नयाँ काममा वा ठाउँमा लगानी गर्न पर्‍यो भने त्यसको गहिरो अनुसन्धान हुने गरेकै छैन । जसले गर्दा प्रतिफल आउन कठिन भइराखेको छ । नयाँ सोच, नयाँ प्रविधि, नयाँ सीप र नयाँ तरिका आइसकेको हुन्छ हामी भने उही पुरानै तरिका अपनाइरहेका हुन्छौँ । त्यसकारण सम्बन्धित निकाय यस विषयमा चनाखो हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया