
-सागर पाण्डे
आदरणीय मित्र एवं आफन्तजनमा शुभ प्रभात । लकडाउनको सदुपयोय भनौँ या समय व्यतीत गर्नेक्रममा केही चिन्तन मनन गर्ने जमर्को गरेको छु । मानवीय जीवन के हो र कस्तो बनाउने भन्ने चिन्ता र चिन्तनमै हामीले अधिकांश समय बिताएका हुन्छौँ । जीवनको बोध समयमै हुनुपर्छ ।
विविध सम्बन्धको आयामले जेलिएको यो संसारमा भावीले जे लेख्यो त्यही हुन्छ या कर्मले लेखेको बन्छ भन्ने कुरा अझैसम्म छुट्टाउन सक्ने भइएको छैन । ५० वर्षको सेरोफेरोमा आइपुग्दासम्म आफूले बटुल्न सक्ने ज्ञान, अनुभव बटुले पनि सत्य, असत्य छुट्टाउन ठीक, बेठीक छुट्टाउन र सोहीअनुसार निर्णय तथा कार्यान्वयन गर्न अझै कठिनाइँ परिरहेको अवस्था छ । जीवअनुसार मान्छेका आवश्यकता आआफ्नै किसिमका छन् । र, भनिन्छ मानव जीवन सबैभन्दा उत्कृष्ट छ । जसको सबैभन्दा राम्रो उदाहरण आफूभित्र आयो कि आएन ? त्यो स्मृति छ वा आउने भविश्यको गर्भभित्र छ थाहा छैन।
यो दुनियामा धेरै सन्त, महन्त, लेखक, साहित्यकार, कलाकार, विद्वान आए गए तर केहीले छाडी गएका स्मृति, स्मृति ग्रन्थ, शास्त्र र रचना छन् र तिनीहरु पनि कतिको प्रभावमा पुगे पुग्दैछन् थाहा छैन। लाग्छ राम्रो ज्ञान समयमै प्राप्त गर्नु पनि एउटा भाग्य नै हो । असल जीवन साथी पाउनु र त्यसबाट असल सन्तान हुनु पनि सफल जीवन हो।
मान्छेका मस्तिष्क एकै किसिमका देखिए पनि सोच फरक छन् र जुन प्राकृतिक पनि हो तर भित्रैको सुन्ने र बाहिरको सुन्नेमा अन्तरमुखी र बहिर्मुखी स्वभावका छन्। एक मान्छेले आफूलाई कत्तिको बुझ्यो अर्कोलाई कत्तिको बुझ्न चिन्न सक्यो वा त्यसको जरुरी कत्तिको पर्यो ? धर्मले भनेअनुसार आफैँमा खोज्न भनेको कुरा कहाँ छ ? के खोजे जीवन धन्य हुन्छ ? अझै खुट्टयाउन सकेको छैन।
जीवन शक्ति मुक्ति ऐश्वर्य र आनन्दको हुनुपर्छ भन्नेमा धेरै जनमानस जागरुक छन् तर काम सोहीबमोजिम गर्न कठिन छ। अस्थिर मनले मान्छेलाई स्थिरतापूर्वक लाग्न दिँदैन, यो मर्त्यलोकमा आएका मानव कसरी जीवन सफल हुन सक्छ भन्ने खोजीमा मार्ग बदलेको बदल्यै छन् तर पनि यही हो अबको बाटो भनेर कोही ढुक्क छैनन् ।
एउटा जीवन आधार स्थापित गर्ने उद्देश्यमा त हुन्छन् तर उद्देश्यअनुसार व्यावहारिक गर्न मन वचन र कर्म एकै ठाउँ भेला पार्न सक्दैनन् । एकले अर्काको कमजोरी देखिन्छ तर आफ्नो कमजोरी सधैँ लुकाएर हिँडिन्छ, कुनै कमजोरी औँल्याउनुअघि ठीक गर्ने मनसाय हुन्छ । कुनै कमजोरी नखोतलिदिए हुन्थ्यो भन्ने लाग्छ । तर, ती पछिसम्म लगभग उस्तै अवस्थामा रहन्छन् । जीवन रहुञ्जेल अवसर आइरहन सक्छन् तर ज्यानले ती अवसरलाई चिन्न गुन्न र रुपान्तरणमा ल्याउन सक्ने सामर्थ्य गुमाउँदै गएको हुन्छ भने अर्को कर्ता बनेर ती काम गराउन पनि उचित पात्र प्राप्त हुनुपर्छ। कतिपय सबल उत्तराधिकारीले ती अग्रजका बाँकी काम गर्न सक्छन्।
एउटा आफूलाई समाज र मुलुकमा सफल देख्ने अभिभावकले पनि आफ्ना परिवारका सदस्यको मनोभावनासमेत बुझ्न नसकेको हुन्छ । जीवनलाई सन्तुलनमा राख्न घरी धर्मको घरी कर्मको रस्सी खिच्न कुँदिरहेको हुन्छ । मनमा अहंकार, इष्र्या, अभिमान, घमण्ड र पाखण्डले भरिएको हुन्छ जुन काँचो ऊर्जा थिए त्यसले आफ्नो अनुभवलाई पकाएर परिस्कृत र परिमार्जित गर्न सक्दैन। हिजो आज र भोलिमै अल्झिरहन्छ । अहिलेका मानिसको सबैभन्दा महत्त्वपूर्ण खोजी आधारभूत आवश्यकताको पूर्ति र मनोरञ्जनमात्रै देखिन्छ।
मैले मलाई अहिलेसम्म एउटा चित्रकार, पत्रकार, प्रशिक्षक र समाजसेवीका रूपमा विकास गरेँ । तर, ती विषयभित्रका तमाम उद्देश्यलाई साकार रुप दिन सकिनँ। थाहा छ कुनै एउटा महत्त्वपूर्ण उपलब्धि स्थापित गरियो भने कीर्ति राख्ने एउटा काम बन्न सक्छ तर ती काम नगराउन मैभित्र रहेको अर्को पक्षले मुद्दा हालिदिन्छ । आरोपित गर्छ र सम्झाउने समन्वय गराइदिने पनि यही मभित्रकैले गर्छ जसलाई म खोजीरहेको छु । म मा गुरुहरुमा, ज्योतिषहरुमा, हस्तरेखामा, काममा, उद्देश्यमा, पेसामा, शास्त्रमा, कलामा अनि परिवारमा र समाजमा । अस्तु